काठमाडौँ । भारतको गुहवाटीमा भएको टि–२० सिरिज नेपाल ए टिमले जितेको छ। सोमबार साँझ भएको ५ खेलको सिरिजको अन्तिम तथा निर्णायक खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपालले एले सिरिज ३–२ले जितेको हो।

सिरिजका पहिलो खेल आसामले डिएलएस मेथर्डमा १५ रनले जितेको थियो भने दोस्रो र तेस्रो खेलमा नेपाल ए विजयी भएको थियो। जसमा नेपाल एले ९६ र ९ रनको जित निकालेको थियो। चौथो खेलमा भने आसाम १८ रनले विजयी भएको थियो।सोमबार नेपाल एले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको आसामले ९ विकेटको क्षतिमा १६४ रन मात्र बनाउन सक्यो।

आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ तथा साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५ रन बनाए। सौरभ दिहिगाले १७ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

बलिङमा नेपालका लागि शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान २ विवेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २०८ रनको विशाल योगफल बनाएको थियो। नेपालका लागि इनफर्म ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय योगदान दिए। उनले ३९ बलमा ३ चौका र ५ छक्क प्रहार गर्दै ६४ रन बनाए। यो उनको सिरिजमा दोस्रो अर्धशतक हो।

यस्तै, शुभले २६ बलमा १ चौका र ४ छक्का मद्दतमा ४१ रन बनाउँदा ओपनर इशान पाण्डेले २० बलमा ४ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए। यस्तै, आदिलले ११ बलमा तीन छक्का मद्दतमा २५ रन बनाए।

बलिङमा आसामका आयुश्मन मलाकार र अविनभ चौधरीले समान २ विवकेट लिए।

तपाईको प्रतिक्रिया