काठमाडौं। नेपाल बिमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन्। आवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म १४ जनाको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ।
प्राधिकरणको अध्यक्ष बन्न पूर्वगृहसचिव नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर र पूर्वकार्यकारी निर्देशकसम्मले आवेदन दिएका छन्।
राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शर्मा, पूर्वगृहसचिव महेश्वर न्यौपाने, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, रमेश भट्टराई, बिक्रन्त पाण्डे, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, ज्ञानेन्द्र अधिकारी, दिपकबहादुर भण्डारी, राजेन्द्र पण्डित, यज्ञप्रसाद न्यौपाने र रमेशकुमार भट्टराई रहेका छन्।
अर्थले यही भदौ १४ गते सात दिनको म्याद तोकेर आवेदन खुला गरेको थियो।मन्त्रिपरिषदले यही भदौ ९ गते बिमा प्राधिकरण अध्यक्ष छनौटका लागि सिफारिस समिति गठन गरेको थियो। समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ खोमराज खरेल सदस्य छन्।
सरकारले शरद ओझालाई पदमुक्त गरेपछि अर्थ मन्त्रालयले गत शनिबार प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको हो।
ओझाको योग्यताबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले अयोग्य ठहर गरेपछि मन्त्रिपरिषदले ओझालाई अध्यक्षबाट बर्खास्त गरेको हो।
सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।
प्राधिकरणको अध्यक्ष हुन बिमा, मौद्रिक, वाणिज्यशास्त्र व्यवस्थापन जनप्रशासन तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उम्म व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको र उच्च नैतिक चरित्र भएको व्यक्ति योग्य हुने मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सवस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्डअनुसार ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने मन्त्रालयले जनाएको छ।