काठमाडौं । यसवर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।
मंगलबार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्बद्ध सबै पक्षको बैठकले यात्रुहरू जाने क्रम शुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।
जेनजीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू विदा हुने र उनीहरूको घर जाने क्रम शुरु भइसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
उनले दशैंका लागि घर जानेहरूले ३—४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
‘अब यो दशैंका लागि भनेर टिकटको खोल्नुपर्ने अवस्था हामीले देखेनौं । किनभने अहिले नै जस्तो युनिर्भसिटी अहिले नै बिदा भइसके । त्यो भएको हुनाले अब रहेका विद्यार्थीहरू लगायतका पब्लिक करिब ५० हजार मानिसहरू गोंगबु बसपार्कबाट मात्रै बाहिर गएको हामीसँग डाटा छ,’ उनले भने, ‘त्यो हुनाले अब अग्रिम बुकिङ आवश्यक छैन । दशैंका लागि विशेष बुकिङ हुँदैन । ३—४ दिन अघि नै टिकट दिने निर्णय गरेका छौं ।’
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको बताए ।
‘हामीले चाडबाड केन्द्रीय यातायात व्यवस्थापनका लागि यातायात व्यवसायी महासंघ, प्रहरी, सडक विभाग, यातायात मजदुर महासंघका साथीहरू सबै बसेर अव हामी कसरी सञ्चालन गर्ने, कसरी काठमाडौं उपत्यका छोडेर बाहिर जाने र बाहिरबाट काठमाडौं आउने यात्रुहरूलाई सहज रुपमा कसरी व्यवस्थापन गर्ने, कसरी सेवा दिने, सडक सुशासन कायम गर्ने ? भन्ने विषयमा छलफल गरेका हौं,’ उनले भने ।
बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैंमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताए ।
‘यात्रुलाई कुनै पनि किसिमको ठगी भयो, समस्या भयो भने त्यसमा प्रहरीले आवश्यक कारबाही गर्छ । यात्रुलाई गन्तव्यमा लैजाने असल नियत हुनु पर्यो । यही बेला कमाउने मौका हो भन्ने सोच राख्नु भएन,’ उनले भने, ‘यही बेला हो ठग्ने भन्ने हो भने हामीले त्यस्तालाई सर्पोट गर्न सक्दैनौं । हामी नागरिक सहायता कक्षमा सँगै हुन्छौं । यातायातको सुरक्षित ढंगले संचालन गराउनैछौं । यात्रुलाई सुरक्षित ढंगले गन्तव्यमा पुर्याउने कुरामा हामी कटिबद्ध छौं ।’
प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले नेपाल प्रहरीले यात्रुहरूको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने बताए ।