काठमाडौँ। जेनजी विद्रोहपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सार्वजनिक भएकै दिन उपमहासचिव जनार्दन शर्माले राजीनामाका विषयमा पार्टीभित्र छलफल सुरु गरेका छन् ।

जेनजी विद्रोहका कारण संसद् विघटन हुनुमा प्रमुख नेता जिम्मेवार भएको भन्दै उनले अध्यक्ष दाहालले राजीनामा दिन दबाब बढाउन थालेका हुन् ।

उनले आन्तरिक छलफलका लागि तयार गरेको १६ बुँदे प्रस्तावमा राजीनामा दिनुपर्ने माग गरेका हुन् । यो प्रस्ताव शर्मा पक्षमा छलफल भएको र त्यसलाई अघि बढाउने तयारी भएको एक नेताले बताए ।‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भनेका छन्, ‘कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।’

गत वर्ष साउनमा भएको स्थायी समितिमा उनले नेतृत्व हस्तान्तरण गर्नुपर्ने लिखित प्रस्ताव राखेका थिए । त्यसबेला उनको प्रस्तावमा छलफल भएको थियो । जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, संस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्ने उल्लेख गर्दै आन्दोलनले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको उनले बताएका छन् ।

वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने शर्माले भनेका छन् । माओवादीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने, २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरुको सम्पत्ति छानबिन र जेनजी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गरेका छन् ।

शासकीय नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्ने, वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्ने उनको प्रस्ताव छ । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रुपमा उठाउनुपर्छ,’ उनको प्रस्ताव छ ।

उनले पार्टीभित्रका दलित महिलाका समस्याहरु समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने, सहिद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरुको संरक्षणसम्बन्धी नीति तय गर्नुपर्ने बताएका छन् । ‘श्रम र आर्थिक उत्पादनसम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रममार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्नुपर्छ,’ उनको प्रस्ताव छ, ‘राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ ।’

तपाईको प्रतिक्रिया