काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने बताएकी छन् । कार्कीले मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने समेत बताएकी छन् ।

मंगलबार कार्कीले बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा यस्तो भनाइ राखेकी हुन्। अन्तर्वार्तामा कार्कीले भनेकी छन्, ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो।’

कार्कीले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्तिको खोजी हुने पनि बताइन्। राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाइने उनले स्पष्ट पारिन्।

उनले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने पनि बताएकी छन्। आन्दोलनको ‘म्याण्डेट’ नै भएकाले यस्तो आयोग आवश्यक पर्ने उनको भनाई छ।

यस्तो आयोगले अनसुन्धान गरेपछि त्यसपछि बन्ने सरकारका लागि सहज हुने आधार तयार गरिदिने भनाई प्रधानमन्त्री कार्कीको छ। उनले अन्तर्वार्तामा भनेकी छन्, ‘कति भ्रष्टाचार भएको छ। अनियमितिता भएको छ त्यसको अनुसन्धान गरेर भए पनि हामीले कारबाही गर्ने सम्म मात्र पु¥यायौं भने सरकारले काम गर्न सक्छ । तर हामी बाटो चाहिँ बनाउँछौं।’

जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन ससस्यीय आयोग बन्ने पनि उनले बताइन् । यस्तो आयागलाई सुरुमा एक महिनाको समय दिइने र जाँचबुझ नसकिएको अवस्थामा थप १५ दिन समय उपलब्ध गराइने जानकारी पनि दिइन्।

तपाईको प्रतिक्रिया