खोटाङ। खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियारको हत्या भएको छ । सोमबार राति घर नजिकैको बाटोमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानमा रस्मितालाई आपराधिक समूहले बलात्कार गरी हत्या गरेको आशंका गरिएको छ । घटनाबारे थप तथ्य संकलनका लागि जिल्ला प्रहरी कार्यालयबाट अतिरिक्त प्रहरी टोली परिचालन गरिएको डीएसपी बुढाथोकीले बताए । घटनास्थलको मुचुल्का संकलन गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ पठाउने प्रहरीको तयारी छ ।
घटनापछि गाउँमा त्रास फैलिएको छ । स्थानीयले अपराधीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । एमाले खोटाङका नेता राम दङ्गालले पनि अपराधीलाई चाँडै पहिचान गरी कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । रस्मिताको परिवारले घटनामा संलग्नलाई कडा सजाय दिलाउन आग्रह गरेको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ । अन्नपूर्णपोष्टमा समाचार छ।