
विपीन निङ्लेकु,
नेपाली कांग्रेसलाई जनताको मनोभावना अनुसार अगाडि बढाउन अहिले केही ठोस र दीर्घकालीन कदम चाल्न आवश्यक छ। अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसले यदि सही बाटो रोज्यो भने पार्टी मात्र होइन, युवाहरूको भविष्य पनि उज्ज्वल बन्न सक्छ। मेरो विचारमा मुख्यतः यी बुँदाहरुमा मा ध्यान दिनुपर्ने देखिन्छ:-
१. आत्मसमीक्षा र संगठन सुदृढीकरण
अघिल्लो शासनकालमा भएका कमजोरीहरूलाई खुलेर आत्मसमीक्षा गर्नुपर्छ। पार्टीभित्र शुद्धिकरण अभियान चलाएर यथास्थितिवादी, भ्रष्ट र अवसरवादी प्रवृत्तिलाई हटाउनुपर्छ। निर्णय प्रक्रियामा स्थानीय तहदेखि केन्द्रसम्म आन्तरिक लोकतन्त्र सुनिश्चित गर्नुपर्छ ।
२. युवा नेतृत्वलाई अग्रपंक्तिमा ल्याउने
युवालाई टोकन मात्र होइन, वास्तविक नेतृत्व दिनुपर्छ। स्थानीय, जिल्ला र केन्द्रीय तहमा ४० वर्षमुनिका युवालाई जिम्मेवारीसहित अघि बढाउनुपर्छ। टेक्नोलोजी, सामाजिक संजाल र डिजिटल अभियानमार्फत युवालाई सक्रिय बनाउनु आवश्यक छ।
३. जनताको प्राथमिकतालाई नीतिमा रुपान्तरण गर्ने
बेरोजगारी, महँगी, शिक्षा, स्वास्थ्य र सुशासनमा ठोस नीति ल्याउनुपर्छ। विकासका ठूला सपना देखाउने मात्र होइन, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनु श्रृजनशील तवरले प्रस्तुत हुनुपर्छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनै पर्छ।
४. सामाजिक न्याय र समावेशीकरणमा प्रतिबद्धता
दलित, महिला, आदिवासी, जनजाति, मधेसी र पिछडिएका समुदायलाई मुख्यधारमा ल्याउनैपर्छ। समान अवसर र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने काममा अझ अग्रसर हुनुपर्छ ।
५. राजनीतिक स्थायित्व र सुशासन
गठबन्धन राजनीतिलाई स्थायी समाधानतर्फ लैजाने काम पहिलो प्राथमिकतामा राख्नुपर्छ । सरकारलाई स्थिर बनाउने र दीर्घकालीन नीति कार्यान्वयन गर्न जोड दिनुपर्छ। जनतासँग प्रत्यक्ष जवाफदेही बन्ने प्रणाली बनाउनुपर्छ।
यदि नेपाली कांग्रेसले यी दिशामा कदम चाल्यो भने- युवामा आशा जगाउँछ। पुरानो कांग्रेसको ऐतिहासिक हैसियत पुनःस्थापित हुन्छ। मुलुकको लोकतन्त्र बलियो बन्छ र कांग्रेसको भविष्य दिगो हुन्छ।
(अधिवक्ता निङ्लेकु नेपाली कांग्रेस तेह्रथुमका सचिव हुन्। यो सामाग्री उनको फेसबुकबाट लिइएको हो।)







