काठमाडौँ। रोहित अधिकारी फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको उक्त गीतमा सञ्जिवनीको स्वर छ। ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा किरण खरेलको शब्द र स्वर्गीय जयदेवको संगीत समावेश गरिएको छ।

यो गीतको मूल संस्करणमा गायिका आशा भोसलेको स्वर रहेको थियो। ‘माइतीघर’ नामक पुरानो नेपाली फिल्मको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनकी टिमले पुनः बजारमा ल्याएका हुन्। असोज १३ गते दशैंको फूलपातीको अवसरमा यो फिल्म रिलिज हुँदैछ।

गीतको भिडियोमा नायिकाद्वय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन्। मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

कविराज गहतराजले गीतको भिडियोको कोरियोग्राफी गरेका हुन्। कोरियोग्राफी लोभलाग्दो बनेको छ भने लोकेशन र छायांकन पक्षले समेत दर्शकलाई आकर्षित गर्ने देखिन्छ। हरेक शब्दअनुरूप लोकेशन छनोट गरिएको छ।

मिलन तामाङको निर्देशनमा तयार भएको यस फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ। ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेका छन् भने रामशरण पाठकको लेखन छ।

यस फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय छ। चन्द्रकुमार दोङको कथा रहेको यस फिल्मले दर्शकको माया पाउने विश्वास गरिएको छ।

गीतको भिडियो प्रतियोगिताको समेत घोषणा भइसकेको छ। ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले गरेका छन्। गीत सार्वजनिक भएसँगै दर्शकले प्रतियोगितामा सहभागी भएर आफ्ना भिडियो बनाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया