काठमाडौँ। सुशीला कार्की, एक नेपाली महिला। जसले नेपालको राजनीतिक इतिहासमा नयाँ इतिहास मात्रै रचिनन्, जेन-जी आन्दोलनबाट संकटमा परेको संघीय गणतन्त्र, संविधान र मुलुकको सार्वभौमसत्ता बचाउनका लागि योगदान गर्न आइपुगेकी छन्।

पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी उनी अब नेपालको पहिलो महिला प्रधानमन्त्री पनि बनेकी छन्। न्यायिक सेवामा उनले देखाएको कुशलता, हकी स्वभाव र बदलिएको राजनीतिक घटनाक्रमले उनलाई प्रधानमन्त्रीको जिम्मेवारीमा पुर्‍याएको छ।

२५ जेठ २००८ मा मोरङको शंखरपुरमा जन्मिएकी कार्कीले विराटनगरको महेन्द्र मोरङ कलेजबाट बिए र बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।

०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि उनले ०३५ मा वकालत थाल्दा विराटनगरमा महिला कानुन व्यवसायी थिएनन् । पछि केही संख्यामा महिला कानुन व्यवसायीको प्रवेश भए पनि टिकिरहन सकेनन् । तर, कार्की अविचलित वकालतमा टिकिरहिन् । कार्कीले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका खेलेकी थिइन् ।

०४६ को जनआन्दोलनताका कार्की पञ्चायतविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ पनि परेकी थिइन् । कार्कीले तत्कालीन अञ्चल अदालतदेखि पुनरावेदन अदालतसम्मको वकालतको अनुभव संगालेकी थिइन् ।

वकालतको २७ वर्षपछि वरिष्ठ अधिवक्ता बनेकी उनी ०६५ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनिन् । ०६७ मा न्यायाधीश नियुक्त भइन् । र, त्यसको सात वर्षपछि १ वैशाख ०७३ मा कामु प्रधानन्यायाधीश बनिन् ।

त्यसको तीन महिनामा प्रधानन्यायाधीश बनेकी उनले १५ महिना सर्वोच्च अदालतको नेतृत्व गरिन् । तर, उनले ससर्वोच्चको नेतृत्वको कार्यकाल पूरा गर्न पाइनन्, महाभियोगको सामना गर्नुपर्‍यो । यद्यपि, ससर्वोच्च अदालतको अन्तरिम आदेशका कारण महाभियोग निस्तेज भएपछि दलहरूले महाभियोग फिर्ता लिएका थिए ।

मध्यमवर्गीय किसान परिवारमा जन्मिएकी कार्की विराटनगरनिवासी डिल्लीबहादुर कार्कीका पाँच छोरी र दुई छोरामध्ये सबैभन्दा जेठो सन्तान हुन् । उनलाई बुझ्नेहरू कार्की सानैदेखि जिद्दी, हठी र कसैसँगै नडराउने स्वभावकी थिइन् ।

विराटनगर– २, शंकरपुर तीनपैनीमा रहेको जनता माविबाट स्कुल शिक्षा पूरा गरेकी कार्की बुद्धिजीवी दुर्गा सुवेदीकी पत्नी हुन् । सुवेदी पहिले कांग्रेसका सक्रिय कार्यकर्ता भए पनि हाल नागरिक समाजका अगुवाका रूपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया