काठमाडौँ। जेन-जी युवाहरूले माइतीघरमा विरोध प्रदर्शन सुरु गर्दा सुदन गुरुङ पानी वितरण गर्दै थिए।

उनी नेतृत्वको हामी नेपाल संस्थाले त्यहाँ विरोधमा आएकाहरूलाई सेवा गरिरहेको थियो। तर ब्यानरमा जेन-जी उल्लेख भएका कारण गुरुङले आफू प्रदर्शनमा नआएको, बरू सेवा गर्न आएको उल्लेख गरेका थिए। तर वास्तवमै सामाजिक सञ्जालमा जेन-जी पुस्तालाई जागरुक गर्न भूमिका खेल्नेमध्येकै एक अगुवा थिए उनी।

भूकम्प, कोरोना महामारी र अन्य त्यस्तै विपद्‌का घटनामा नेपालीको सेवा गर्न अग्रभागमा देखिएका युवा स्वयम्‌सेवी गुरुङ यसपटक भने जेन-जी आन्दोलनबाट युवा पुस्ताको नेताकारुपमा उदाएका छन्।

भदौ २३ र २४ गतेको प्रदर्शनपछि जेन-जी पुस्ताका माग र एजेण्डाहरूलाई लिएर निचोडमा पुग्न गुरुङले अहोरात्र भूमिका खेले। कहिले राष्ट्रपतिसँग वार्ता, कहिले सेनापतिसँग। राज्य सञ्चालनका भित्री कुराको ज्ञान नभएपनि भ्रष्टाचार र बेथितिविरुद्ध ठूलो निराशा र आक्रोसको नेतृत्व गुरुङले गरिरहेका छन्। उनको सार्वजनिक अभिव्यक्ति छुच्चो छ, तर उनी लगनशील भएरै मेहिनेत गरिरहेका छन्।

आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनेदेखि अहिले मन्त्रिपरिषद् विस्तार, घाइतेको उपचार र मृतकहरूको अन्तिम संस्कारसम्म उनी अग्रपंक्तिमा देखिएका छन्।

को हुन् गुरुङ ?

जब गुरुङ आन्दोलनको नेतृत्वमा देखा परे, उनलाई आरोप लाग्यो- कहिले भारतीय नागरिक त कहिले तिब्बती अभियानको सदस्य। तर गुरुङ आफूले भने नेपालको सच्चा देशभक्त नागरिक भएको दाबी गरिरहेका छन्।

त्यस्तो प्रश्न गर्नेहरूलाई उनको जवाफ छ- मसँग नेपाली नागरिकता छ, बैंकमा खाता छ। विदेश भएर यी सबै कुरा मैले कसरी प्राप्त गर्न सक्छु?

गोरखाका स्थायीवासी हुन् गुरुङ । तर लामो समयदेखि उनी सामाजिक क्षेत्रमै सक्रिय छन्। समाज परिवर्तनका लागि समर्पित परोपकारी हुँ भन्ने उनको दाबी छ। सन् २०१५ को भूकम्पमा आफ्नै बच्चा गुमाएपछि व्यक्तिगत त्रासदीको सामना गरेका उनी त्यसपछि सामाजिक सेवामा सक्रिय भएका हुन्।

जेन-जी आन्दोलनमा पनि गुरुङले सामाजिक सञ्जालमा अभियान चलाए। जेन-जी युवाहरूले सरकारका विरुद्ध बोल्न सिकाए, नेतृत्व गरे।
गुरुङ भन्छन्, ‘म नेपाली नै होइन भनेर पार्टीका भ्रातृ संगठनदेखि साइबर सेनाले अभियान चलाए। तर यो हल्ला मात्रै हो। हल्लाको कुरालाई कसैले पनि पत्याउनुहुन्छ भन्ने मलाई लाग्दैन।’

‘हामी नेपाल’ कस्तो संस्था हो?

हामी नेपाल नामक संस्था सामाजिक संस्था हो। जसको अध्यक्ष छन्- सुदन गुरुङ । उक्त संस्थाले बाढीपहिरोदेखि अनेक विपत्तिमा सहयोगका लागि काम गर्दै आएको छ।

गुरुङका अनुसार उक्त संस्थाले भूकम्पका बेलादेखि अहिलेसम्म नेपालमा भइरहेका विभिन्न विपत्तिका बेला सहयोग गर्दै आएको छ । ‘यो सामाजिक संस्था हो। एनजीओ नै हो,’ उनले भने, ‘समाजमा जे पनि हुन्छ, त्यसमा सहयोग गर्नका लागि आर्थिक कुरा आउँछ। त्यसका लागि दातृ निकायबाट सहयोग लिएर काम गर्नुपर्छ। बाध्यताले यो संस्था चलाएको हुँ।’

तपाईको प्रतिक्रिया