काठमाडौँ। दुई दशकभन्दा बढी समय पत्रकारितामा बिताएका जगदीश खरेल अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन्।
इमेज च्यानलको चर्चित टक शो ‘हट सिट’ मा नेतादेखि शीर्ष पदाधिकारीसम्मलाई कठोर प्रश्न सोध्दै उनले निडर सञ्चारकर्मीको छवि बनाएका थिए। अब भने उनी आफैं जवाफ दिने स्थानमा पुगेका छन्।
२०३९ सालमा दोलखाको सुनखानीमा जन्मिएका खरेल सामाजिक काममा सक्रिय बुबाबाट प्रभावित थिए। बाल्यकालदेखि नै प्रश्न राख्न र बहस गर्न रुचाउने उनी विद्यालयकै दिनदेखि प्रखर वक्ता बने। विभिन्न वक्तृत्वकला प्रतियोगितामा जित्दा–जित्दै उनलाई लाग्थ्यो, “म त बोलेरै खान सक्छु।” धेरैले उनलाई राजनीति वा मिडियामा लाग्न सुझाव दिने गर्थे।
काठमाडौं आएपछि दाइ दीपेश खरेलको सल्लाहमा उनले पत्रकारितालाई रोजे। रेडियो सुन्ने रुचिबाटै प्रेरित उनले २०५७ सालतिर इमेज रेडियोमा यात्रा सुरु गरे। ‘प्रसंगबस’ कार्यक्रम सञ्चालन गर्दै उनले समाचार पढ्नेदेखि लिएर विभिन्न जिम्मेवारी सम्हाले। पछि इमेज च्यानलमा सिफ्ट हुँदै उनी समाचार सम्पादक बने। सोही क्रममा उनले राजनीतिक नेतृत्व र सत्तामाथि लगातार प्रश्न उठाए।
सशस्त्र द्वन्द्वका दिन देखेका खरेलले पत्रकारितालाई रोजे तर राजनीति सम्भावना भने सधैं नजिक रह्यो। अब भने उनले सो बाटो औपचारिक रूपमा समातेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री बनेका खरेलले आफैं उठाउँदै आएको पारदर्शिता, जवाफदेहिता र खरोपनलाई नेतृत्वमा पनि कायम राख्छन् कि राख्दैनन् भन्ने जिज्ञासा सबैमा छ। हिजो प्रश्न गर्ने खरेल अब उत्तर दिनुपर्ने भूमिकामा पुगेका छन्।

तपाईको प्रतिक्रिया