काठमाडौँ। नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरू भएको छ। सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिहरूले विषेश महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरू गरेका हुन्। पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने हस्ताक्षर गरिसकेका छैनन्। बिस्तारै हस्ताक्षर अभियानले गति लिने देखिन्छ।

अब यो अभियान जिल्ला-जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा पुर्‍याउने पक्षमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह छ। हालै बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राख्दा सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरूले विरोध गरेका थिए।

कांग्रेसमा केन्द्रीय सदस्यमध्ये ४० प्रतिशत र महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतले हस्ताक्षर गरी माग गरेमा सभापतिले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। केन्द्रीय समितिमा सभापति देउवा पक्षका ८० प्रतिशत बढी सदस्य छन्।

सभापति देउवा अहिले नै पदबाट राजीनामा दिने पक्षमा देखिएका छैनन्, भदौ २४ गते घर बूढानीलकण्ठमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका उनी सैनिक अस्पतालमा उपचाररत छन्। सभापति देउवाले पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘असजिलो परिस्थितिमा सहयोग गर्न’ भनेका छन्।

त्यसैले सभापति देउवानिकट केही पदाधिकारीहरूले विशेष महाधिवेशन मागेका महामन्त्रीद्वय थापा र शर्मालाई लक्ष्य गर्दै अभिव्यक्ति दिन थालेका छन्, बैठक गरी थप रणनीति बनाउन थालेका छन्। केन्द्रीय समितिबाट विशेष महाधिवेशन निर्णय हुने सम्भावना क्षीण बनेपछि महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान सुरू गरेका हुन्।

विशेष महाधिवेशन माग्नेहरूमा अहिलेसम्म नेता शेखर कोइराला, महामन्त्री गगन थापा र केही सभापति देउवा पक्षका पनि रहेको नेताहरूको भनाइ छ। विशेष महाधिवेशनको पक्षमा उभिएकी प्यूठानकी महाधिवेशन प्रतिनिधि तथा लुम्बिनी प्रदेश सभा सांसद निमा गिरीले सभापति देउवालाई ‘ग्रेसफुल एक्जिट’ को अवसर रहेको बताइन्।

‘बहुसंख्यक व्यक्तिहरूले सभापतिज्यूको ग्रेसफुल एक्जिट हुनुपर्छ भनिरहेका छन्। उहाँहरूले जनताको म्यान्डेटअनुसार काम पनि गर्न सक्नु भएन भनेर भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनले पनि देखायो,’ उनले भनिन्, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग्न खोज्दैछौं, हस्ताक्षर बुझाएको ३ महिनामा विशेष महाधिवेशन बोलाउनुपर्छ, त्यो महाधिवेशनले पार्टीको नीति र नेतृत्व चयन गर्नेछ।’

उनका अनुसार यही व्यक्ति नेतृत्वमा आउनुपर्छ भनेर विशेष महाधिवेशन माग गरिएको भने होइन। ‘विशेष महाधिवेशनबाट जो पनि नेतृत्वमा आउन सक्छ। पार्टीलाई जनताको मागअनुसार समसामयिक रूपमा रूपान्तरण गर्दै लैजानुपर्छ,’ उनले भनिन्।

उनका अनुसार जेनजी पुस्ताको माग पार्टीले सम्बोधन गर्न सकेको छैन। ‘जेनजी पुस्ताका आवाज उठाउने मानिसहरू पार्टीको निर्णायक तहमा पुग्दै पुगेनन्, उनीहरूको आवाज सम्बोधन पनि हुन पाएको थिएन, त्यही जगमा आन्दोलन भएको पनि देखिन्छ, जेनजी पुस्ताको भावनाअनुसार पार्टी पनि अघि बढाउनुपर्छ,’ उनले भनिन्।

गुरूराज घिमिरे, देवराज चालिसे र गिरीसहित १०९ जना महाधिवेशन प्रतिनिधिहरूले सोमबार नै विशेष महाधिवेशन मागेर विज्ञप्ति जारी गरेका छन्। कांग्रेसमा नियमित वा विशेष महाधिवेशन के गर्ने भन्ने बहस पनि छ। महाधिवेशन प्रतिनिधि भूपेन्द्रजंग शाहीका अनुसार मंसिरमा अहिलेको कार्यसमितिको कार्यकाल सकिने भएकोले अब नियमित महाधिवेशन नै गरे हुन्छ।

‘पार्टी यथास्थितिमा चल्दैन, पार्टीमा अपरेशन जरूरी छ, युवाको आक्रोश र जनताको भावना बुझ्न सकेन भने त पार्टी चल्न सक्दैन, अहिले पार्टी संकटको घडीमा छ, भावनामा बहकिएर निर्णय गर्ने छुट कसैलाई छैन, एकताबद्ध भएर जानुपर्छ,’ उनले भने, ‘मंसिरमा कार्यकाल सकिने भएकोले अब सबैको सहमतिमा नियमित महाधिवेशन गरे भइहाल्छ, विशेष महाधिवेशन भनेर कहिले गर्ने फेरि त्यो। विधानअनुसार ३ महिनामा भन्ने छ, मंसिर कट्छ।’

नेता शेखर कोइरालाले नियमित वा विशेष महाधिवेशन के गर्ने हो केन्द्रीय समिति बोलाएर त्यहीँबाट साझा धारणा तय गरिनुपर्ने कुरा गर्दै आएका छन्। आफूसँगको भेटमा पनि नेता कोइरालाले केन्द्रीय समितिले नियमित वा विशेष महाधिवेशन के गर्ने हो साझा धारणा बनाउने कुरा गरेको शाहीले बताए।

‘नियमित वा विशेष महाधिवेशन के गर्ने हो केन्द्रीय समितिमा छलफल गरी साझा धारणा बनाउनुपर्छ भन्नेमा शेखर दाइ हुनुहुन्छ, मसँग हिजो भएको कुराकानीमा पनि उहाँले यथास्थितिमा पार्टी चल्दैन भन्नुभयो भने विभाजनतिर जान दिनु हुँदैन भन्ने कुरा राख्नुभयो,’ उनले भने। कांग्रेमा अब राष्ट्रिय भेला गर्ने र विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न आह्वान गर्ने तयारी चलिरहेको छ।

‘पार्टी रूपान्तरण र व्यवस्थित भएको हेर्न चाहनेहरूले विशेष महाधिवेशन बोलाउन सहयोग गर्नुहोस् भनेर आह्वान गरिन्छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘त्यसपछि जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा पनि हस्ताक्षर गर्छौं, अहिले पनि हस्ताक्षर गर्ने काम बिस्तारै अघि बढेकै छ।’सभापति देउवाको टाउकोमा १२ टाँका लगाएको छ। देउवा दम्पतीमाथि भदौ २४ गते आक्रमण भएको थियो।

‘हस्ताक्षर अभियान पनि चल्दै जान्छ, सभापति पनि निको हुनुहुन्छ त्यसपछि केन्द्रीय समिति बैठक बस्छ,’ ती पदाधिकारीले भने, ‘सकेसम्म केन्द्रीय समितिबाटै विशेष महाधिवेशन वा नियमित महाधिवेशनबारे साझा धारणा आउला त्यसो हुन नकसे विशेष महाधिवेशन माग गर्ने विषय तीव्र रूपमा अघि बढ्छ।’

संस्थापनइतर समूहले विशेष महाधिवेशन माग गरेका बेला सभापति देउवा पक्ष भने रक्षात्मक बन्दै गएको छ। अस्पतालबाटै सभापति देउवाले फोन गरेर नेताहरूलाई सहयोग गर्न भनिरहेका छन्। सभापति देउवा पुन: सक्रिय हुन थालेपछि उनीमाथि दबाब बढाउन पनि विशेष महाधिवेशन हस्ताक्षर अभियान सुरू भएको हो। सभापति देउवा पक्षका नेताहरू केन्द्रीय समिति बैठक राख्ने, त्यहाँ सबैलाई बोल्न दिने र बहुमत रहेकोले विशेष परिस्थिति देखाएर एक वर्ष सभापति देउवाको कार्यकाल थप गर्ने गृहकार्यमा छ। फागुनको चुनावमा जान बरू कसैलाई प्रधानमन्त्री उम्मेदवार तोकेर जान सकिनेमा सभापति देउवा पक्ष छ।

त्यसो हुँदा ०८३ मंसिरसम्म देउवा नै सभापति रहने, फागुन २१ को प्रनितिधि सभा चुनावमा पुरानै शैलीमा टिकट बाँड्ने र १५ औं महाधिवेशनसम्म देउवाकै आशीर्वादले काम गर्ने भन्दै संस्थापनइतर पक्ष झस्केको छ। यतिमात्र होइन, पार्टी रूपान्तरणको एजेन्डा नै त्यसबेलासम्म हराउनेमा शेखर-गगन पक्ष शशंकित छ। त्यसैले उनीहरूले विधानअनुसार नै विशेष महाधिवेशन माग गरेका हुन्।

विधानको धारा १७ को उपधारा २ मा ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ’ भन्ने व्यवस्था छ।

यसैमा टेकेर शेखर-गगन पक्षले विशेष महाधिवेशन बोलाउन दबाब दिने तयारी गरेका हुन्। कांग्रेसमा यसअघि एक पटक विशेष महाधिवेशन भएको इतिहास छ। २०१४ सालमा विराटनगरमा भएको विशेष महाधिवेशनले सुवर्ण शमशेरलाई हटाएको थियो र बिपी कोइरालालाई सभापति बनाएको थियो। त्यसपछिको चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो।

कांग्रेसको २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि थिए। यसको ४० प्रतिशत १ हजार ८ सय ९७ जना हुन आउँछ। यही संख्यामा महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे विशेष महाधिवेशन माग गर्न संख्या पुग्छ। सभापति पदमा देउवासँग सभापति पदमा चुनाव लड्दा शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएका थिए। त्यसबेला महामन्त्री पदमा गगन थापाले भने ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ३०२३ मत पाएका थिए।

तपाईको प्रतिक्रिया