काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको उपयोग बढाएसँगै आमनागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ।

मौसम पूर्वानुमान महाशाखाले ‘नेपाल वेदर फोरकास्ट’ र बाढी पूर्वानुमान महाशाखाले ‘नेपाल बाढी सूचना’ नामक फेसबुक पेज सञ्चालनमा ल्याएका छन्। यी पेजमार्फत नियमित रूपमा मौसम, बाढी र वर्षासम्बन्धी जानकारीसँगै जनचेतनामूलक सामग्री पनि प्रकाशन हुन्छ।

‘नेपाल वेदर फोरकास्ट’मा आज जारी सन्देशमा भनिएको छ, “कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचना हेर्न अनुरोध गर्दछौँ।”

यस्तै, ‘नेपाल बाढी सूचना’ पेजमा बाढी जोखिमसम्बन्धी दृश्य सामग्रीसमेत राखिन्छ। महाशाखाकी हाइड्रोलोजिस्ट इञ्जिनियर जिङ्की भुसालका अनुसार, “पानी पर्न थालेपछि नजिकैको खोलामा बाढी आउला कि भन्ने चासोलाई सम्बोधन गर्न नागरिकले हाम्रो वेबसाइट र सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गर्न सक्छन्,” भन्ने सन्देश नियमित रूपमा प्रसारित हुन्छ।

युट्युब, टिकटक र ट्विटरजस्ता अन्य सामाजिक सञ्जालमार्फत पनि यसैगरी सूचना प्रसारित हुने गरेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो। उहाँका अनुसार, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सामाजिक सञ्जाल निकै उपयोगी सावित भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सामाजिक सञ्जालमार्फत सन्देशमूलक जानकारी साझा गर्दै आएको छ। विभाग र प्राधिकरणलगायत निकायले यसरी सूचना सम्प्रेषण गर्दा आमजनताले समयमै मौसमी जानकारी प्राप्त गर्न सहज भएको छ।

तपाईको प्रतिक्रिया