काठमाडौँ। दलित महिला संघ (फेडो) नेपालले सिरहाको कल्याणपुर नगरपालिका-८ अरुङमा दलित बस्तीमा भएको तोडफोड, लुटपाट र अत्याचारको घटनाप्रति खेद प्रकट गरेको छ।

संघकी महासचिव रेनु सिजापतिले मंगलबार विज्ञप्ति जारी गर्दै दलित समुदायमाथि भएको अमानवीय घटनाको विरोध र भर्त्सना गरेको हो। फेडोले घटनाको सत्यतथ्य छानविन गरी दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन समेत माग गरेको छ।

‘स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानको घरमा सोही वडाका वडाध्यक्ष्यसहित प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राईलगायत करिब ५० जनाको समूहले अस्लिल गाली, दुर्व्यवहार र उठिबास लगाउने धम्की दिने, लुटपाट मच्चाउने नगद पैसा, अन्नपात, लत्ताकपडा लुट्ने लगायत घर समेत भत्काएपछि पीडित परिवार त्रिपालमा बस्दै आएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘बालबच्चा र महिला त्रासपूर्ण जीवन बाँचिरहेका छन् । केही मात्रामा राहत उपलब्ध भएपनि उनीहरू आफैँले घर बनाउन सक्ने अवस्था छैन। हाल यस घटनामा १३ जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता भई वडाध्यक्ष रामकिशोर यादवसहित गणेश र कैलाश पक्राउ परिसकेका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।’

फेडोले स्थानीय वडाध्यक्षकै नेतृत्वमा यस्तो जघन्य अपराधिक घटना भएको भन्दै राज्यका निकाय र जनप्रतिनिधिको भूमिकामाथि समेत प्रश्न उब्जिएको जनाएको छ।

तपाईको प्रतिक्रिया