काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत तथा सो सरहका राजपत्रांकित तृतीय श्रेणी पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ, जहाँ महिलाको उल्लेखनीय सहभागिता देखिएको छ। साउन १९, २० र २१ गते सञ्चालन भएको लिखित परीक्षाको नतिजा आयोगले शनिबार सार्वजनिक गरेको हो।

प्रशासन, लेखापरीक्षण, संघीय संसद् सेवा, सामान्य प्रशासन अन्तर्गतका लेखा तथा राजस्व समूहमा खुला र समावेशीतर्फ ३०३ पदका लागि भएको परीक्षामा कुल ३ हजार २११ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३६८ जना उम्मेदवार लिखित चरणमा उत्तीर्ण भएका छन्।

उत्तीर्ण हुनेमध्ये महिलाको सहभागिता विशेष उल्लेखनीय रह्यो। कुल ७३ जना महिला उम्मेदवारले लिखित परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्। तीमध्ये २० जना महिला खुला प्रतिस्पर्धा समूहबाट उत्तीर्ण भएका हुन्, भने ५१ जना महिला समावेशी समूह (महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता, पिछडिएको क्षेत्र) अन्तर्गतबाट उत्तीर्ण भएका छन्।

समावेशी समूहमा महिलाको उपस्थिति 

महिलातर्फ ३१ पदका लागि ६८ जना सहभागीमध्ये ३१ पदमा ६८ जना उत्तीर्ण
खुला समूहतर्फ १५७ जना (जसमा २० महिला)
अन्य समावेशी समूहहरू (आदिवासी जनजाति – ४९, मधेसी – ४८, दलित – १७, अपांग – ९, पिछडिएको क्षेत्र – २०)

यदि खुला समूहतर्फ उत्तीर्ण भएका २० जना महिला अन्तिम चरणमा पनि खुला समूहमै सिफारिस भएमा, महिलातर्फको ३१ पद सुरक्षित भइसकेकाले ५१ जनासम्म महिला अन्ततः सिफारिस हुन सक्ने सम्भावना देखिएको छ।

अब उत्तीर्ण उम्मेदवारहरू सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण तथा अन्तर्वार्तामा सहभागी हुनेछन्। ती चरणहरू सफलतापूर्वक पार गरेपछि अन्तिम सिफारिसका लागि योग्य ठहरिनेछन्।

आयोगले सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तरवार्ता लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा क्रम संख्याका आधारमा आगामी कात्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म सञ्चालन गर्नेछ ।

 

तपाईको प्रतिक्रिया