तेह्रथुम। आठराई गाउँपालिका-५ छातेढुंगामा लाग्दै आएको दिपावली मेलाअन्तर्गत महेन्द्र कन्दङवास्मृति रनिङ कप खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ क्लब र होटल माउन्टेन सक्रान्तिबजारबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार वर्षाका कारण भगवती ट्रफी तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगितातर्फका खेल भने हुन सकेनन्। शुक्रबार स्थगित भएका खेल शनिबार सञ्चालन हुने आयोजकले जनाएको छ।

महिलातर्फको पहिलो सेमिफाइनलमा म्याङलुङ स्पोर्टिङले र फिदिम महिला भेट्रान्सलाई २-० ले हराएको थियो। म्याङ्लुङका लागि समिक्षा मगर र सुक्रिया मियाले १-१ गोल गरेका थिए। अर्को खेलमा पोखरी माविलाई ३-० ले हराउँदै होटल माउन्टेन सक्रान्तिबजार उपाधि नजिक पुगेको हो। माउन्टेनका लागि सुजता लिम्बुले दुई गोल गरिन् भने एक गोल उपहारस्वरूप पोखरी माध्यमिक विद्यालयको तर्फबाट प्राप्त भएको थियो ।

पुरुषतर्फको पहिलो सेमिफाइनलमा लाफा एफसी र फेदाप गाउँपालिका भीड्नेछन् भने अर्को खेलमा खेलकुद विकास समिति ईवा र आठराई गाउँपालिका भीड्ने भएका छन्। पुरुष फुटबलतर्फ बिजेताले नगद एक लाख पचहत्तर हजार सहित तीन वर्षे रनिङ कप साथै उपविजेताले नगद एक लाख पच्चीस हजार सहित तिन वर्षे रनिङ कप प्राप्त गर्नेछन् भने खुल्ला महिला फुटबल तर्फ बिजेताले नगद ८० हजार सहित ट्रफी मेडल र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया