बैंकक। एसिया प्यासिफिक सोसल फोरमअन्तर्गत थाइल्याण्डको राजधानी बैंककमा एसिया प्यासिफिक क्षेत्रमा विद्यमान जातीय विभेद अन्त्यको रोडम्याप सम्वन्धी छलफल भएको छ।

दलित गैरसरकारी संस्था महसंघ (डीएनएफ), वल्र्ड डिग्निटी फोरम र नेपाल तथा भारतका अन्य संघ संस्थाहरूको संयुक्त आयोजनामा सो छलफल भएको हो । छलफलमा एसिया प्यासिफक क्षेत्रका संघ संस्थाको प्रतिनिधिहरु र अगुवाहरुको सहभागीता रहेको थियो ।

छलफल कार्यक्रममा बोल्दै पूर्व राजदुत तथा वल्र्ड सोसल फोरमका अन्तर्राष्टिय सदस्य डा. अर्जुन कार्कीले जातीय विभेद असमानताको मुख्य कारण भएको बनाउँदै सूचना प्रविधिको क्रान्तिको समयमा पनि यस्ता विभेद हुनु दुखद भएको बताए।

दक्षिण एसियामा विद्यमान जातीय विभेद विश्वव्यापी फैलिएको बताउँदै डा. कार्कीले यसको अन्त्यका लागि सामाजिक आन्दोलनले मुख्य मुद्दा बनाउनुपर्ने बताए।

वल्र्र्ड डिग्निटि फोरमका संस्थापक तथा भारतीय दलित नेता अशोक भारतीले जातीय विभेदको मुद्दा विश्वव्यापी भएको बताउँदै यसको अन्त्यका लागि विश्वव्यापी रुपमा संघर्ष गर्नुपर्ने बताए। सबै सामाजिक समस्याहरुको एकमुष्ट रुप जातीय विभेद भएको वताउँदै भारतीले विश्वव्यापी रुपमा प्रभावपार्ने गरी नयाँ सामाजिक आन्दोलन गर्नुपर्ने उनको भनाइ छ।

गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले जातीय विभेद अब राजनीतिक मुद्दा बनिसकेको भन्दै यसको अन्त्यका लागि संवैधानिक र कानुनी प्रावधानको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता भएको बताए।

त्यस्तै, अन्तर्राष्टिय दलित ऐक्यवद्दता सञ्जाल (आइडिएसएन) अध्यक्ष रेणु सिजापतिले जातीय विभेदले दलित महिलालाई झन् ठूलो असर परिरहेको बताउँदै यसको अन्त्यका लागि कानुनी सुधार गर्दै शिक्षामा लगानी गर्नुपर्ने बताइन्।

दलित लाइभ म्याटरका अध्यक्ष प्रदिप परियारले जातीय विभेद अन्त्य गर्ने दायित्व सबैको भएको बताउँदै संविधानको कार्यान्वयन, धार्मिक सुधार, आर्थिक न्याय र डिजिटल क्याम्पेनमा काम गर्नुपर्ने बताए। विश्व सामाजिक मञ्चका अगुवा पेरे जर्जले कम्युनिष्ट पार्टीले सत्ता चलाउँदा पनि नेपालमा जातीय विभेद कायम रहनु दुखद भएको बताए।

कार्यक्रमा थाइल्याण्डका बाल अधिकारकर्मी सामन मक्सत, भारतका अधिकारकर्मी टिएस आउजा लगायतका व्यक्तिहरुले समेत बोलेका थिए।

तपाईको प्रतिक्रिया