
काठमाडौं। अब स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरू सम्बन्धित स्थानीय तहबाट हुने भएको छ। यसअघि यी सेवाहरू करदाता सेवा कार्यालयमार्फत मात्र उपलब्ध हुँदै आएका थिए।
स्थानीय तहबाट सेवा सञ्चालनका तयारी भइरहेको र आवश्यक पूर्वाधार तथा प्रणाली तयार हुन केही समय लाग्ने आन्तरिक राजस्व विभागले जनाएको छ।यस्तो अवस्थामा, ती सेवाहरू अस्थायी रूपमा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत प्रवाह गरिने व्यवस्था मिलाइएको छ।
कर भुक्तानी, करचुक्ता प्रमाणपत्रलगायतका धेरै सेवा अहिले नै अनलाइन प्रणालीमार्फत प्राप्त गर्न सकिने व्यवस्था कार्यान्वयनमा छ।
विभागका अनुसार, सेवा प्रवाहको वैकल्पिक व्यवस्था पूर्ण रूपमा लागू नभएसम्म करदाता सेवा कार्यालयहरूले हालको प्रणालीअनुसार नै सेवा प्रदान गर्नेछन्।
गत साउनसम्म स्थायी लेखा नम्बर (प्यान) लिने सक्रिय करदाताको संख्या बढेर ७० लाख ६ हजार ८०३ पुगेको अर्थ मन्त्रालयले जनाएको छ। गत चैतसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ लाख २३ हजार ५५९ पुगेको थियो।
यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ४९ लाख नाघेको अर्थ मन्त्रालयले जनाएको छ। व्यावसायिक स्थायी लेखा नम्बर लिने सक्रिय करदाताको संख्या २० लाख १५ हजार ६३ र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ३५ हजार ८५२ पुगेको छ।







