काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाली हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाइका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई ठेक्का दिएको छ। उक्त कम्पनीले करिब १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोटको डिजाइन, छपाइ, आपूर्ति र डेलिभरी गर्ने जिम्मेवारी पाएको हो।

राष्ट्र बैंकले तोकेको सर्तअनुसार प्राप्त गोप्य बोलपत्रहरू मध्ये चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनको आर्थिक प्रस्ताव सबैभन्दा कम मूल्यको रहेकाले सो कम्पनीलाई ठेक्का स्वीकृतिका लागि आशयपत्र पठाइएको राष्ट्र बैंकले जनाएको छ। यसअघि पनि सोही कम्पनीले विभिन्न मूल्यका नेपाली नोटहरू छाप्ने जिम्मेवारी पाइसकेको छ। पाँच रुपैयाँ, दश रुपैयाँ, पचास रुपैयाँ, सय रुपैयाँ र पाँच सय रुपैयाँ दरका नोटहरू समेत यही कम्पनीले छापेको हो।

पछिल्लो चरणमा पाँच रुपैयाँ दरका ३५ करोड थान, दश रुपैयाँ दरका ३४ करोड थान, पचास रुपैयाँ दरका ४२ करोड थान, सय रुपैयाँ दरका ३० करोड थान र पाँच सय रुपैयाँ दरका २३ करोड थान नोट छपाइको ठेक्का पनि यसै कम्पनीले पाएको थियो। राष्ट्र बैंकले नोट छपाइका लागि पूर्वयोग्यता पूरा गरेका छवटा अन्तर्राष्ट्रिय कम्पनीहरूबाट गोप्य बोलपत्र माग गरेको थियो।
ती कम्पनीहरूमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डे ला रुई इन्टरनेसनल लिमिटेड, जर्मनीको गिजेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबर्थुर फिडुसियेर, र पोल्याण्डको पोलीस सेक्युरिटी प्रिन्टिङ वर्क्स रहेका छन्। तीमध्ये सबैभन्दा प्रतिस्पर्धी दरमा प्रस्ताव पेश गरेको कारण हजार रुपैयाँ दरका नोट छाप्ने ठेक्का पुनः चिनियाँ कम्पनीले नै जितेको हो।

तपाईको प्रतिक्रिया