तेह्रथुम। आठराई गाउँपालिकाको सक्रान्तिबजारमा सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प पुनःस्थापनाको माग गरिएको छ।
यहाँ रहेको सशस्त्र प्रहरी वेश क्याम्प गत भदौदेखि हटाइएको थियो।

वेश क्याम्प हटेपछि शान्ति सुरक्षामा असर परेको स्थानीयले पुन वेश क्याम्प स्थापना गर्न माग गर्दै आएका छन्। सर्वसाधारण जनताको तहबाट माग आउन थालेपछि यहाँका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसहितले सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।

यहाँ रहेको बेस क्याम्पले आठराई र फेदाप गाउँपालिका क्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्दै आएको थियो। आइतबार आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र फेदाप गाउँपालिकाका अध्यक्ष केशव भेटुवालले संयुक्त हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन्।

ज्ञापनपत्र बुझाउन आठराई र फेदापका जनप्रतिनिधिहरूसहित नेपाली कांग्रेस तेह्रथुमका सभापति अर्जुन तुम्बाहाङफे लगायत नेताहरू उपस्थित थिए। अध्यक्षद्वय पाहिम र भेटुवालले ज्ञापनपत्रमार्फत पालिकावासीहरूको शान्ति सुरक्षा सुदृढीकरणका लागि तत्काल सशस्त्र प्रहरी बेश क्याम्प पुनःस्थापना गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया