तेह्रथुम। आठराई गाउँपालिकाको पर्यटकीय गन्तव्य झाँक्री गुफा परिसरमा ‘आठराई बहुजातीय सांस्कृतिक संग्रहालय’ निर्माण भएको छ।

संग्रहालय सञ्चालनका लागि गाउँपालिकाले आठराई बहुजातीय सांस्कृतिक संग्रहालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ समेत जारी गरी कार्यान्वयनमा ल्याएको छ। भवन निर्माण भइसकेकाले अब संग्रहालयका लागि आवश्यक ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका सामाग्रीहरूको संकलन कार्य समेत सुरु गरिएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए।

उनका अनुसार आठराई क्षेत्रको गौरवमय इतिहास, संस्कृति र परम्परालाई उजागर गर्ने उद्देश्यका साथ पुराना ऐतिहासिक, सांस्कृतिक तथा पहिचान झल्काउने वस्तुहरू राख्ने गरी संग्रहालय बनाइएको हो। त्यस्ता प्रकृतिका सामाग्रीहरूको संकलन र सहयोगका लागि समेत उनले आह्वान गरे।

संग्रहालयका लागि आवश्यक सामाग्रीहरू उपलब्ध गराउन गाउँपालिकाले आम आठराईवासी र अन्य सम्पूर्ण सरोकारवालाहरूलाई अपिल समेत गरेको छ।

आफ्ना घरपरिवारमा रहेका ऐतिहासिक वा सांस्कृतिक महत्व बोकेका सामग्रीहरू संग्रहालयमा प्रदान गरी सामूहिक पहिचान जगेर्नामा सहयोग गर्न आह्वान गरिएको अध्यक्ष पाहिमले बताए।

उनका अनुसार सामग्री उपलब्ध गराउने दाताहरूको नामावली संग्रहालयको स्थायी सिलालेखमा उल्लेख गरिने छ। गाउँपालिकाले “हाम्रो संस्कृति, हाम्रो पहिचान — संरक्षण र प्रवर्द्धनमा सबैको सक्रिय सहभागिता आवश्यक छ” भन्ने नाराका साथ संग्रहालय सञ्चालनमा ल्याउने अभियान थालेको उनले बताए।

तपाईको प्रतिक्रिया