काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले अहिले महाधिवेशनको मितिमा अल्झिने समय नभएको बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै चुनावअघि महाधिवेशन मिति घोषणा गरेर जाने प्रस्ताव राखे।

उनले भने, ‘निर्वाचन कि अधिवेशन ? नियमित कि विशेष महाधिवेशन भनेर वकालतमा समय खेर नफालौँ अधिवेशन पार्टी र निर्वाचन दुवै उत्तिकै महत्त्वका कार्य हुन्। केन्द्रीय कार्य समितिले नै सर्वसम्मत विशेष महाधिवेशनको निर्णय गरेर जाने अवस्था बन्छ भने ठिकै होला। होइन भने पार्टी सहज अवस्थामा रहँदैन तर नियमित अधिवेशनले पार्टी जीवनमा उत्साह, चाहना र रूपान्तरण ल्याउनेछ।’

उनले निर्वाचन र महाधिवेशन दुवै तोकिएको समयमा हुनुपर्ने बताए। उनले थपे, ‘छलफल र बहसमा अल्झिएर समय बर्बाद नगरौँ महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौँ। यसको मतलब निर्वाचनभन्दा अघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौँ। सोहीअनुसार सबै तहका अधिवेशनको तालिका सार्वजनिक गरौं। क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण प्रभावकारी बनाउने कार्य तीव्र गतिमा अघि बढाऔँ। यसले निर्वाचनको माहौल पनि सँगसँगै बनाउँदै लान्छ।’

वडा र पालिका तहसम्मको अधिवेशनले आम चुनावमा नोक्सान पुर्‍याउने बताए। नियमित अधिवेशनका लागि उपयुक्त मितिमा सहमति गरेर तत्काल कार्यतालिका सार्वजनिक गरे अहिलेको समस्याको समाधान हुने उनको बुझाइ छ।

तपाईको प्रतिक्रिया