भोजपुर। पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान संख्या बढाएको छ। विगतमा हप्तामा दुईपटक मात्रै सञ्चालित भोजपुर–काठमाडौँ उडान अब चारपटक हुने भएको छ।

प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको काठमाडौँ–भोजपुर–काठमाडौँ उडान तालिका पुनः विस्तार गरिएको निगमका भोजपुर स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए। उनका अनुसार कात्तिक २६ गतेदेखि लागू हुने नयाँ तालिकाअनुसार मंगलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन हुनेछ। यसअघि बिहीबार र शनिबार मात्रै उडान हुँदै आएको थियो।

मर्मतमा रहेको अर्को जहाज सञ्चालनमा आएपछि भोजपुरका लागि उडान थप गरिएको हो। निगमले यात्रुहरूलाई आफ्नो यात्रा सुनिश्चित गर्न आधिकारिक वेबसाइटमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था समेत गरेको छ।

भोजपुरमा सडक यातायातका साधन सञ्चालनमा आएसँगै भोजपुर–विराटनगर उडान भने बन्द भएको छ। विसं २०३५ मा घाँसेमैदानबाट सुरु भएको भोजपुर उडान अहिले विमानस्थल कालोपत्र भएपछि पनि नेपाल वायुसेवा निगमकै जहाजले मात्र सञ्चालन गरिरहेको छ। उडान संख्या कम हुँदा भोजपुर–काठमाडौँ आवागमन गर्ने यात्रुहरू लामो समयदेखि समस्या भोग्दै आएका छन्।

तपाईको प्रतिक्रिया