
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी माध्यमिक तहको परीक्षा प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षिका पदमा नियुक्ति लिएकी थिइन्। अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
निरौला विसं २०५५ मा अस्थायी रूपमा नियुक्त भई २०७५ साल चैत २८ गते स्थायी नियुक्ति प्राप्त गरी हालसम्म सोही विद्यालयमा कार्यरत रहेको आयोगले जनाएको छ। आयोगले नक्कली शैक्षिक योग्यताको आधारमा सरकारी सेवा, तलब, भत्ता र अन्य सुविधा लिएको ठहर गर्दै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र हालको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबीसहित मुद्दा दायर गरेको हो।







