काठमाडाैं । मधेस प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक नेपाली कांग्रेससहितको सातदलीय गठबन्धनले बहिष्कार गरेको छ ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले प्रदेशमा देखिएका राजनीतिक समस्याका समाधानबारे छलफल गर्न शनिबार दिउँसो ३ बजे बैठक बोलाएका थिए। तर बैठकमा वर्तमान मुख्यमन्त्री सरोज यादव नेकपा एमाले संसदीय दलका नेता को भूमिकामा सहभागी हुने स्पष्ट भएपछि गठबन्धनका सात दलहरूले बैठक बिथोल्ने निर्णय गरे।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का संसदीय दलका नेता जयनुल राइनले असंवैधानिक रूपमा नियुक्त गरिएको भनिएको मुख्यमन्त्रीलाई दलका नेता हैसियतमा बैठकमा राखिएकाले बहिष्कार गरिएको बताए । सात दलले प्रदेश प्रमुखसँग छुट्टै बैठक राखिदिन आग्रह गरेका छन्।

सात दलका नेताहरू अनुपस्थित भएपछि मुख्यमन्त्री यादव मात्र बैठकस्थल पुगेका थिए। यसअघि ७४ जना सांसदले संयुक्त हस्ताक्षर गर्दै मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन्। सो प्रकरणमा आइतबार सुनुवाइ हुने समय तोकिएको छ। सात दल २३ कात्तिकदेखि नै मुख्यमन्त्री नियुक्तिविरुद्ध आन्दोलनरत छन्।

तपाईको प्रतिक्रिया