बैतडी। बैतडीमा उन्नत जातका गाई भित्र्याएर दुधको आपूर्ति गर्न डेरी पसल सञ्चालन गर्दा शेरबहादुर कुँवरले पहिलो पटक जातीय विभेदको कडा अनुभव बेहोर्नुपर्‍यो। दलित समुदायको दुध किन्न सुरु गरेका कारण न केवल उनलाई विभेदको सामना गर्नुपर्‍यो, डेरी पसल नै बन्द हुने अवस्था आयो।

दशरथ चन्द नगरपालिका–५, नौहाटाका शेरबहादुर २६ वर्षदेखि उन्नत जातका गाई पाल्दै आएका छन्। होटेलहरूमा दुध आपूर्ति गर्न उनले २०५६ सालमा भारतको पिथौरागढबाट उन्नत जातका गाई ल्याएका थिए। हाल सदरमुकाममा मात्र करिब चार सयभन्दा बढी उन्नत जातका गाई रहेको नगरपालिका तथ्याङ्कमा उल्लेख छ।

शेरबहादुरका अनुसार, “मेरा ससुराली पिथौरागढमा उन्नत जातका गाई देखेपछि सात दिन पैदल हिँडेर बैतडी ल्याएको हुँ। दलित–गैरदलित सबै किसानलाई मिलाएर कामधेनु दुग्ध सहकारी खोलेँ। दलित समुदायको दुध किन्न थालेपछि ‘दलितको दुध किन्यो’ भनेर हल्ला फैलियो। त्यतिबेला त दलितलाई होटेलमा छिर्न पनि नदिने चलन थियो। ग्राहकले विरोध गरेपछि डेरी बन्द गर्नुपर्‍यो,” उनले सम्झिए।

डेरी बन्द भएपछि पनि अहिले सदरमुकाममा दलित समुदायले दुध बिक्री गर्न नसक्ने अवस्था अझै रहेको उनी बताउँछन्।

उनले थपे, “होटेलहरूमा पाउडर दुधको चिया पिउनुपर्ने समय थियो। शुद्ध दुध दिन खोज्दा जातीय विभेदको पर्खाल खडा गरियो। तर म पछि हटिनँ। गाउँभरिको दुध घरघरमै संकलन गरेर बेच्न थालेँ।”

शेरबहादुरलाई साथ दिँदै धर्मपत्नी देवकी कुँवरले सुझाव दिएकी थिइन् कि दलित समुदायलाई घरमै गई दुध दिनुपर्छ। त्यसपछि शेरबहादुर जर्किन बोकेर सरकारी कार्यालय, सेनाप्रहरी ब्यारेक र डेरामा बस्ने दलित विद्यार्थीका लागि दुध आपूर्ति गर्न थाले। देवकी भन्छिन्, “डेरीमा दलित समुदायले सबैभन्दा राम्रो र शुद्ध दुध ल्याउँथे। तर समाजले नकारात्मक कुरा गर्दा पसल बन्द गर्नुपर्‍यो।”

डेरी बन्द भए पनि कुँवर दम्पतीले उन्नत जातका गाईका बाच्छाबाच्छी बेच्दै गाईपालन जारी राखेका छन्। उनका छोरा हेमन्त कुँवर मोटरसाइकलमा घर–घर दुध पुर्‍याउँदै आएका छन्। अहिले उनीहरूले होलेस्टाइन–फ्रिजियन गाईबाट दैनिक झन्डै ३० लिटर दुध उत्पादन गर्छन्। हेमन्त बजार जाँदा अन्य गाउँलेको दुध पनि बेचिदिने गर्छन्।

उन्नत जातका गाईका लागि बहर अभाव

उन्नत जातको गाईपालन बढ्दै गए पनि जिल्लामा बहर तथा कृत्रिम गर्भाधानका पर्याप्त सुविधा नहुँदा किसानहरू समस्यामा छन्। गाईको गर्भाधानको समय आउनुअघि नै भारतको पिथौरागढबाट पशुवैद्य बोलाएर कृत्रिम गर्भाधान गर्नुपरेको शेरबहादुर बताउँछन्।

पुनः सञ्चालनमा कामधेनु गोरस भण्डार

दुध बेच्न वर्षौं संघर्ष गरेका शेरबहादुरले अहिले सदरमुकामको दशरथ चन्द नगरपालिका–४, शाहीलेक बजारमा ‘कामधेनु गोरस भण्डार’ स्थापना गरेर मोही, खुवा, पनिरजस्ता पदार्थ उत्पादन सुरु गरेका छन्।

एक्लै सामाजिक कुरीति भत्काउन नसक्दा डेरी बन्द भई लगानी डुबेको पीडा उनीसँग अझै छ। नयाँ गोरस भण्डारलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले खुवा मेसिन उपकरण सहयोग गरेको छ।

अहिले भने केही परिवर्तन आएको उनी अनुभव गर्छन्। सार्वजनिक स्थानमा दलितमाथि हुने विभेद घट्दै गएको बताउँदै, शेरबहादुर भन्छन्, “राज्य र स्थानीय तहले साथ दिए दलित समुदायको दुध पुनः बजारसम्म पुर्‍याउने अभियान जिल्लाभर चलाउन चाहन्छु।”

यो समाचार गोरखापत्रबाट साभार गरिएको हो।

तपाईको प्रतिक्रिया