
काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकारमध्ये एक दिनेश डीसी को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका डीसीको जन्मदिनको अवसर पारेर निर्माण पक्षले यो विशेष पोस्टर सार्वजनिक गरेको हो ।
साइन्स–फिक्सनमा आधारित रही निर्माण भएको यो फिल्म आगामी पुस १७ गते देखि प्रदर्शनमा आउने तयारीमा छ ।
सार्वजनिक पोस्टरमा डीसीको क्यारेक्टर नाम ‘द्रोण’ उल्लेख गरिएको छ । उनको लुक्स र प्रस्तुतिबाट यो फिल्म सामान्यभन्दा फरक र उच्चस्तरको बनेको संकेत मिल्छ ।
‘एक्लो’ का निर्देशक प्रदीप शाही हुन् । बेलायतमा बसेर फिल्म निर्माणमा सक्रिय शाहीको यो तेस्रो निर्देशन हो । उनी हलिउड स्तरको भिजुअल र प्राविधिक गुणस्तरमा फिल्म तयार गर्ने लक्ष्यसहित जुटिरहेका छन् । हाल फिल्मको पोस्ट–प्रोडक्सन कार्य लण्डनमा तीव्र गतिमा भइरहेको छ ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी सँगै बेलायती अभिनेता जेमी बेकन को समेत अभिनय रहेको छ ।
एनआरएन समूहको लगानीमा बनेको यो फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।







