
बर्दिया । बर्दियामा दलित महिला जनप्रतिनिधिहरूको जिल्लास्तरीय साझा मञ्च गठन भएको छ । जिल्लास्थित आठवटै पालिकाका महिला जनप्रतिनिधिलाई समेटेर साझा मञ्च गठन गरिएको हो । मंगलबार गुलरियामा सम्पन्न भेलाले चन्द्रकला विकलाई संयोजक, विमला परियारलाई सह-संयोजक र पूजा सुनारलाई सचिवमा चयन गरेको छ ।
यस्तै आठ जना सदस्यसहित ११ जनाको जिल्ला कार्यसमिति गठन भएको छ । स्थानीय तहमा दलित जनप्रतिनिधिलाई दलित महिलाका सवालमा एकीकृत गरी उनीहरूबीच एकता, समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्यले जिल्लास्तरीय साझा मञ्च गठन गरिएको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले बताइन् ।
‘दलित सशक्तीकरण विधेयक निर्माणमा उहाँहरूको पैरवी रहन्छ,’ उनले भनिन्,‘दलित सशक्तीकरण विधेयकसँगै योजना निर्माणका साथै बजेट विनियोजनका लागि गाउँ-गाउँमा सचेतना फैलाउन साझा मञ्चको आवश्यकता परेको हो ।’






