
काठमाडौँ । जेनजी आन्दोलनपछि सत्ताविमुख भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिलेसम्म पनि सत्ताको धङधङ्गीबाट बाहिर आउन सकेका छैनन् । नवयुवा र नागरिक तहबाट त्यति ठूलो आक्रोस खनिँदा पनि ओलीलाई त्यसले प्रभावित बनाएको छैन, ओली अहिले पनि पहिल्यै जसरी राजनीतिक अहंकार र आत्ममुग्धता प्रस्तुत गरिरहेका छन् ।
जुन धरातलमा नवयुवाहरूले विद्रोह गरे, त्यसको प्रमुख कारण ओली र उनको एकांकी शैली नै प्रमुख कारण हो भन्ने दुई मत देखिदैन । देशको ठुलो युवा शक्तिमा ओलीमात्रै होइन, आजको मुलधारका राजनीतिक दल र तिनको नेतृत्वसँग उच्च असन्तुष्टि छ । तर ओली भने यसको सुइको नपाएझैँ गरी नाटकीय राजनीतिक प्रहसन गरिरहेका छन् ।
अझ एकातिर साढे तीन महिनापछि आम निर्वाचनको मिति तोकिएको छ, अर्कोतिर दुई सातापछि एमालेको ११औँ महाधिवेशन । यी दुवैको तयारीमा यतिबेला घनीभूत छलफलमा हुनुपर्ने हो एमाले । तर ओली पार्टीको महाधिवेशन र आमनिर्वाचनको तयारी दुवैका लागि छलफलमा अग्रसर छैनन् । बरू कहिले नेशनल भोलेन्टियर्स फोर्स घोषणा, त कहिले शक्ति प्रदर्शन गरेर मुलुकको राजनीतिक तरलतामा थप अस्थिरता निम्त्याउने अशान्त माहोल सिर्जना गरिरहेका छन् ।
पार्टीमा प्रतिस्पर्धीलाई पाखा लगाउँदै तेश्रो कार्यकाल अध्यक्ष बन्ने तयारीमा जुटेका ओली विगतमा सधैँ निर्विकल्प नेतृत्व ठहरिन्थे, वाहवाही बटुल्थे । तर यसपटक भने महाधिवेशनको सम्मुखमा ओली प्रवृत्तिको एमालेभित्रै ओलीकै सामुन्नेमा आलोचना भइरहेको छ । नेताहरूले ओलीलाई गलत ठहर्याउन सबै तर्क गरिरहेका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने वा नगर्ने भन्ने विवादसँगै ओलीको विपक्षमा बनेको जनमत अहिले हुर्किएर गएको छ । प्रतिस्पर्धी बन्ने देखेपछि भण्डारीको सदस्यता नवीकरणमै रोकेको ओली पक्षविरुद्ध भण्डारीले सामुहिक र शक्तिशाली प्रतिरोध गर्ने संकेत दिएकी छन् ।
एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि काठमाडौँमा हुँदैछ । यो महाधिवेशनबाट ओली आफैँ अध्यक्षमा तेहेरिने तयारीमा छन् । त्यहीकारण ओलीविरुद्ध भण्डारीको समर्थनमा राम्रो जनमत एमालेमा बनिरहेको नेताहरूको दाबी छ ।
यसअघि भण्डारीको सदस्यता सक्रिय पार्न तत्काल सचिवालय बैठकमा ओलीविरुद्ध प्रस्तुत भएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अब भण्डारीको समर्थनमा अध्यक्षको उम्मेदवार बन्ने तयारीमा छन् । पोखरेलको नेतृत्वमा वर्तमान पदाधिकारीहरूसहितको समूहले प्यानलै बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।
पोखरेल हाल पार्टीको वरिष्ठ उपाध्यक्ष छन् । भण्डारीको पक्षमा खुलेका पोखरेललाई अपमान गर्न ओलीले गत भदौमा भएको विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरिदिए । यति मात्रै होइन, पार्टीको अध्यक्षका लागि विगतमा लगाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालमात्रै अध्यक्ष हुन पाउने व्यवस्था समेत खारेज गरेर आफू तेश्रो कार्यकाल अध्यक्ष हुने बाटो खुला गरे । ओलीको त्यही एकांकी शैलीका कारण एमालेमा उनीविरुद्धको मत बलियो बनेको नेताहरूको भनाइ छ ।
त्यसयता वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीसँग मञ्चमै बसेर वैचारिक भिन्नता र फरक मत राख्दै आएका छन् । पोखरेलले यसअघि बसेको सचिवालय बैठकमा आफू कसैको विरोधमा नभई पार्टीको नेतृत्वका लागि आफ्नो योग्यताका कारण अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको घोषणा गरेका थिए ।
‘महाधिवेशनको मिति नजिकिएको छ । पार्टीमा महाधिवेशनको बहस भएको छैन । तर यो महाधिवेशन प्रतिस्पर्धात्मक हुने देखिएको छ,’ एक पदाधिकारीले भने, ‘अध्यक्षमा ओली कमरेडको इच्छा छिपेको छैन । उहाँसँगै वरिष्ठ उपाध्यक्ष कमरेडले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।’ पोखरेलले पार्टी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्दा पार्टी कमजोर नहुने बताउँदै आएका छन् ।
पोखरेलसँगै उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे पनि भण्डारीको पक्षमा लागेका छन् । सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र रघुवीर महासेठ पनि खुलिसकेका छन् । त्यस्तै, बिन्दा पाण्डे पनि पोखरेलको पक्षमा उभिएर उम्मेदवारी दिने तयारी गरेकी छन् । गोकुल बाँस्कोटा, उषाकिरण तिमल्सिना लगायत केन्द्रीय सदस्यहरू पनि ओलीविरुद्ध प्रभावशाली वकालत गरिरहेका छन् ।
एक नेताका अनुसार पोखरेलको प्यानलबाट उपाध्यक्षमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने चर्चा छ । महासचिवका लागि सचिवद्वय भट्टराई र विष्ट आकांक्षी छन् । त्यस्तै, बिन्दा पाण्डेले सचिवमा उम्मेदवारी दिने नेताहरूको भनाइ छ । महाधिवेशनमा ज्ञवाली र शाक्यले उम्मेदवारी दिने रुचि देखाएका छैनन् । भण्डारीको ‘ब्याकअप’ मा पोखरेल पक्षले सकेसम्म प्यानलै बनाउने होमवर्क गरिरहेको छ ।
यता ओलीले भने महाधिवेशनमा प्रतिस्पर्धाको सट्टा सहमतिको बाटो रोज्नु उपयुक्त हुने सन्देश दिएका छन् ।
पार्टीमा प्रतिस्पर्धा हुँदा प्रतिस्पर्धीहरू सबैले पार्टी छोडेकाले फेरि त्यस्तो प्रतिस्पर्धाको वातावरण बनाउनु पार्टीको हितविरोधी कार्य भएको उनको दाबी छ ।
‘विगतमा हामीले प्रतिस्पर्धा गर्दै आएकै हौँ । तर विगतमा प्रतिस्पर्धा गरेका व्यक्तिहरू पार्टीमा रहनु भएन,’ गत शुक्रबार भएको नेशनल भोलेन्टियर्स फोर्स घोषणा कार्यक्रममा ओलीले भने, ‘नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा नगरौँ । पार्टीलाई एकताबद्ध बनाएर जाऔँ ।’
२०६५ फागुनमा भएको आठौँ महाधिवेशनमा अध्यक्षका लागि ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला खनालसित ओली पराजित भएका थिए ।
महासचिवमा ईश्वर पोखरेल चयन भए । २०७१ असारमा काठमाडौंमा भएको नवौँ महाधिवेशनमा ओली र माधव नेपालबीच प्रतिस्पर्धा हुँदा ओली अध्यक्षमा चयन भएका थिए । महासचिवमा पोखरलनै चयन भए ।
त्यस्तै, २०७८ मंसिरमा ओली र भीम रावलबीच अध्यक्षका लागि प्रतिस्पर्धामा दोस्रो कार्यकालका लागि ओली निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा पोखरेल र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका थिए । आठौँ महाधिवेशनमा पोखरेलले खनाललाई, नवौँ महाधिवेशनमा ओलीलाई जिताउन भूमिका खेलेका थिए ।
आठौँ र नवौँ महाधिवेशनमा महासचिव भएका पोखरेल यस पटक ओलीसँग भिड्ने तयारीमा छन् । दशौँ महाधिवेशनमा भने उनी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका थिए, ओलीकै चाहनामा ।
ओली फेरि पनि पार्टीमा आफूप्रतिकूल हुन दिने पक्षमा छैनन् । जो उनीविरुद्ध जानेछ, उसलाई पार्टीमा फेरि संगठनको जिम्मेवारी पाउन र राजनीतिमा सक्रिय हुन कठिन हुनेछ । जस्तो कि ओलीे नेतृत्वमा आएपछि नेताहरू खनाल, नेपाल र रावलले पार्टी छाडिसकेका छन् ।
बरू अहिले उनीहरू सबै पुष्पकमल दाहाल नेतृत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन् ।
बिहीबार रातिसम्म चलेको केन्द्रीय सचिवालय बैठकमा ओलीले आफूसँग प्रतिस्पर्धा गरेका नेताहरू पार्टी छाडेको भन्दै पोखरेललाई घुमाउरो भाषामा चेतावनी दिएका थिए । ‘एमालेमा रहने भए प्रतिस्पर्धा नगरौँ । पार्टी छाड्ने भए आफू–आफू लडौँ ।’ भन्ने केपी ओलीको सन्देश थियो,’ एक सचिवालय सदस्यले भने, ‘ईश्वर पोखरेलले हिम्मत गरेर ओलीविरुद्ध जोखिम लिने तयारी छ ।’
सचिवालय बैठकमा पोखरेलले ओलीको कार्यशैलीका कारण केन्द्रदेखि स्थानीय तहसम्म सकारात्मक प्रभाव नपरेको बताएका थिए । त्यही कारणले आफू अध्यक्षको उम्मेदवार हुन चाहेको उनको भनाइ थियो ।
विधान महाधिवेशनले एमालेको पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झारेको छ । ओली ११ औँ महाधिवेशन थप शक्ति अभ्यास गर्ने र आफू अनुकुलका पदाधिकारी ल्याएर पार्टी चलाउने मुडमा देखिन्छन् ।
ओली समूहबाट ठुलै संयोग नजुरे अध्यक्षका लागि ओली आफैँ उठ्दैछन् । ओलीकै निगाहमा परे विष्णु पौडेल फेरि उपाध्यक्षमा दोहोरिने तयारीमा छन् । महासचिवमा शंकर पोखरेल नै दोहोरिने चर्चा छ । उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले पनि महासचिवमा आकांक्षा देखाएका छन् । तर उनीहरूले पनि ओलीविरुद्ध विद्रोहको हिम्मत व्यक्त गरेका छैनन् । नेताहरूका अनुसार महासचिवमा पोखरेल दोहोरिए ज्ञवाली र गुरुङलाई उपाध्यक्षमा बढोत्तरी गर्ने हुन सक्ने नेताहरूको भनाइ छ ।
उपमहासचिव विष्णु रिमालले पनि बढोत्तरी चाहेका छन् । पूर्व माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा र सचिव लेखराज भट्टलाई पनि ओलीले व्यवस्थापन गर्नुपर्ने छ । एक जना महिला उपमहासचिव बनाउँदा सचिव पद्मा अर्यालको सम्भावना छ । सचिवका लागि भीमप्रसाद आचार्य, लालबाबु यादव, किरण गुरुङ, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई र राजन भट्टराई पनि आकांक्षी छन् ।
जेनजी आन्दोलनपछि ओलीको दाहिने हात बनेर उदाएका नेता महेश बस्नेत पनि यसपटक पदाधिकारीको आकांक्षा राखेर दौडिरहेका छन् । ओली पक्षबाट को–को कुन पदमा उम्मेदवार हुने भन्ने ओलीबाटै निश्चित हुनुपर्ने देखिन्छ । नेताहरू ओलीको निर्णय कुरेर बसेका देखिन्छन् ।
यो महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । भदौ तेस्रो साता भएको विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ बनाएको थियो भने राष्ट्रिय महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष ३, महासचिव, उपमहासचिव ३, सचिव ७ जना निर्वाचित गर्नेछ ।







