काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)परित्याग गरेका सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टीमा समाहित भएका छन्। अध्यापन र सामाजिक अभियानमा सक्रिय रहँदा-रहँदै २०७९ को निर्वाचनबाट सांसद बनेका परियार प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक बनेका थिए।

सभापति रवि लामिछानेको लोकप्रियतामा खडा भएको रास्वपामा वैचारिक स्पष्टतासहितको संगठन बनाउनुपर्ने मत राखेका परियार प्रतिनिधिसभामा दिएको पहिलो मन्तव्यकै कारण निकै चर्चामा रहे। प्रतिनिधिसभामा प्रमुख सचेतककारुपमा समन्वयकारी भूमिका निभाएका उनले त्यहीअनुरुप रास्वपामा जिम्मेवारी भने पाएनन्। पार्टीमा विचार र राजनीतिक मार्गदर्शन स्पष्ट नभएका नेताहरू हाबी हुँदा अन्तत:परियारले रास्वपा परित्याग गरेका थिए।

आइतबार काठमाडौँमा विशेष घोषणासभाका बीचमा परियार,माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब पक्षले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका हुन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि यही पार्टीको संरक्षककारुपमा जोडिएका छन्। ‘प्रगतिशील, देशभक्त र समाजवादी’ शक्तिहरु मिलेर पार्टी गठन गरेको उनीहरूको दाबी छ।

कम्युनिष्ट पृष्ठभूमिका भट्टराई, शर्मा र परियारहरू मिलेर गैरकम्युनिष्ट वैकल्पिक पार्टी गठन गरेका हुन्। भट्टराईले पार्टीको झन्डा फहराएर पार्टीको घोषणा गरे। शर्मा, सोब र परियारले पनि झण्डा फहराएर पार्टी एकताको घोषणामा सामेल भए। देशमा जेन-जी पुस्ताले खोजेको वैकल्पिक पार्टीको नेतृत्व अब प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्ने भट्टराईको भनाइ छ।

‘विगतमा माओवादी सत्ताको वरिपरि रह्यो । नेताहरुले सामाजिक उत्पीडन अन्त्य गर्न असफल भए । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टीहरुले अवसर गुमाए,’ उनले भने, ‘देशमा चरम भ्रष्टाचार, परिवारवाद, सत्ताका लागि म्युजिकल चेयरका कारण निराशा पैदा भयो र जेन-जी आन्दोलन भयो ।’

शर्माले मौलिकतासहितको समाजवादी पार्टी बनाउने बताए । ‘नेपाली विशेषताको समाजवाद निर्माण गर्ने पार्टीको मार्गदर्शक सिद्धान्त हुनेछ,’ उनले भने ।

नेता परियारले विचार विधिको विकास गर्न नयाँ पार्टी घोषणा गरेको बताए । ‘हामीले विचारमा काम गर्नुपर्नेछ । प्रगतिशीलहरु राष्ट्र बचाउन एक ठाउँमा आउनुपर्छ । विचार निरन्तर छलफलपछि विकास गर्न सकिन्छ,’ उनले भने, ‘विचारबिनाको राजनीतिक संगठन भिड मात्र हुनेछ । ज्ञान उत्पादनमा काम गरेनौं भने फगत भिड मात्र हुनेछौं ।’

संयोजक सोबले विगतका गल्ती सच्याएर अघि जाने बताइन् । ‘विगतको गल्ती गर्ने छुट छैन । कमजोर लोकतान्त्रिबक व्यवस्थासँग लडेर तीव्र आर्थिक विकास ल्याउनुपर्छ । आदिवासी जनजाति, दलित, महिला पिछडिएका क्षेत्रको ोसमानुपातिक समावेशी अहिले पनि पूरा भएको छैन,’ उनले भनिन्, ‘नयाँ आवश्यकताका आधारमा नयाँ समाजवादी व्यवस्था स्थापना गर्न लागेका छौं ।’

प्रगतिशील अभियानका संयोजक सुदन किराँतीले बोलीलाई व्यवहारमा उतार्ने पार्टी बनाउने प्रतिबद्धता जनाए । ‘समस्या समाधान गर्ने विचार विधिसहितको पार्टी निर्माण गर्न खोजेका हौं । यो नयाँ ऐतिहासकि कोशेढुंगा हो,’ उनले भने, ‘देश र जनताको समस्या समाधान गर्न बोलीलाई व्यवहारमा लागू गर्न चाहन्छौं ।’

पार्टीको संरक्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रहनेछन् । पार्टीको सामूहिक नेतृत्व युवा, महिलासहित समावेशी बनाउने विधान मस्यौदामा छ । पार्टीको चुनाव चिह्न भने आँखा रहनेछ । यो दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

तपाईको प्रतिक्रिया