काठमाडौँ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म आगजनी तथा तोडफोड गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन् । प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छोडिएको जनाएको छ ।

एक सय १३ जनामाथि अनुसन्धान भइरहेको जनाउँदै ३३ जनालाई धरौटीमा छोडिएको छ भने पुर्पक्षका लागि ४३ जनालाई थुनामा पठाइएको छ । आगजनी, तोडफोड तथा आपराधिक उपद्रवसँग सम्बन्धित एक सय ४ वटा जाहेरी दर्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सो मध्ये व्यक्तिगत २२, सरकारी कार्यालयमा आगजनी तथा तोडफोड गरेको ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानमा, साथै सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आगजनी र तोडफोड गरेको सम्बन्धमा १६ वटा जाहेरी दर्ता भएका छन् ।

प्राप्त जाहेरी दर्ता संख्या ४२ रहेका छन्, जसमा तीन जना प्रहरी कर्मचारी रहेका छन् । पहिचान नखुलेका सात जनाको डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ । हराएका व्यक्तिको हुलिया प्राप्त भएको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा भवन संरचनामा भएको क्षति सम्बन्धमा २२८ वटा मुचुल्का तयार गरिएको समेत जानकारी गराइएको छ ।

आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय दुई कैदीबन्दीलाई पक्राउ गरी दाखिला गरिएको छ । हालसम्म ८३ नाल हतियार बरामद गरी दाखिला गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया