
काठमाडौँ । सुन तस्करीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालतको धरौटी आदेश अनुसार थुनामुक्त भएका छन्। महरासँग उच्च अदालत पाटनले विहीबार २० लाख धरौटी रकममा छाड्न आदेश दिएको थियो। उच्चको आदेशपछि महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर छाडिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो।
उनलाई थुनामुक्त गर्नका लागि उच्च अदालतले विभिन्न सात वटा आधारहरु दिएको छ । ति आधारमध्ये कृष्णबहादुर महराको नाम जाहेरीमा उल्लेख नभएको, मूल तथा पुरक अभियोगमा प्रतिवादी बनाइएका सहप्रतिवादीहरुले पोल गरेको नदेखिएको, चोरी पैठारी भएको भनिएको सुन जफत भई दशीको रुपमा पेश हुन सकेको नदेखिएको, मूल अभियोग तथा पुरक अभियोगमा नयाँ तथा थप प्रमाण संकलन भई दाबीमा उल्लेख हुन सकेको अवस्था समेत मिसिलबाट नदेखिएको, मूल अभियोग र पहिलो पुरक अभियोग दावी समेत उपरमा प्रमाण संकलन भइ उक्त प्रमाणहरुको विवेचना भइ फैसला समेत भइसकेको आदेशमा उल्लेख छ।
यस्तै, महराले अनुसन्धानका क्रममा र अदालतमा समेत दिएको वयान व्यहोरा समेतका परिप्रेक्ष्यमा तत्काल प्राप्त प्रमाणहरुका आधारमा उनलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गरिरहनु पर्ने सम्मको अवस्था नदेखिएको समेत अदालतले आदेशमा उल्लेख गरेको छ । महरामाथिको अभियोग दाबी तथा संकलित सबुद प्रमाणहरु, प्रतिवादीको उमेर र स्वास्थ्य अवस्था समेतका परिस्थितिलाई पनि आधार लिइएको छ।
२०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मार्फत सुन तश्करी प्रकरणमा महरा तानिएका थिए । तस्करी भएको ९ किलो सुनमा उनको संलग्नता दाबी गर्दै मुद्दा चलाइएको थियो। अदालतले मुल जाहेरीमा महराको नाम नभएको तथा अरु अभियुक्तले पनि पोल गरेको नदेखिएको जनाएको छ । मुल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी यसघि फैसला भइसकेको आदेशमा उल्लेख छ। गत २९ असोजमा काठमाडौं जिल्ला अदालतले गरेको आदेश उल्टाउँदै उनलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतबाट आदेश भएको हो । महरालार्इ गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो।







