
काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेका छन् । तालिममा महासंघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य गरी २५ जना सहभागी थिए ।
सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न र पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार बनाउन तालिम आयोजना गरिएको महासंघका अध्यक्ष निर्मला शर्माले बताइन् ।

प्रशिक्षणपछि प्रशिक्षकहरूले महासंघका देशभर रहेका शाखामार्फत पत्रकारलाई जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको उचित प्रयोगबारे अभिमुखीकरण प्रदान गरिने महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।
समाचारको विश्वसनीयताका लागि पत्रकारले जिम्मेवारपूर्वक पत्रकार आचारसंहिता प्रयोग गर्नु अत्यन्त आवश्यक रहेको प्रशिक्षक उज्ज्वल आचार्यले उल्लेख गरे । उनले पत्रकार आचारसंहितालाई अक्षरशः पालना गरे सञ्चारमाध्यमप्रतिको विश्वास बढ्ने र पत्रकारको पेशागत सुरक्षा बलियो हुने धारणा राखे ।







