काठमाडौँ। हङकङमा भएको आगलागीमा परेर हालसम्म १२८ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा करिब २०० जना मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन् ।

बुधबारदेखि उत्तरी ताई पो जिल्लाको वाङ फुक कोर्टमा आगो लागेको थियो । आगो लाग्दा आवासीय कम्प्लेक्समा कति जना घरभित्रै थिए भन्ने अझै स्पष्ट छैन ।

पछिल्लो जनगणना रिपोर्टअनुसार झन्डै ४ हजार ६ सय मानिसहरु यस अपार्टमेन्टमा बस्ने गरेका थिए । भ्रष्टाचार विरोधी निकायले उक्त भवन परिसरमा भइरहेको मर्मतसम्भारको काममा भएको अनियमितताबारे अनुसन्धान सुरू गरेको छ ।

प्रहरीका अनुसार आगलागीको सम्भावित कारण बन्न सक्ने तरल सामग्री लापरबाहीपूर्वक छोडिएको आशंकामा हालसम्म ११ जनालाई पक्राउ गरिएको सीएनएनले उल्लेख गरेको छ ।

केही बासिन्दाले आगो लाग्दा फायर अलार्म नबजेको र घर–घर दौडेर आफूहरूलाई एक–आपसमा चेतावनी दिनुपरेको गुनासो गरेका छन् । सन् १९४८ पछि हङकङमा भएको यो सबैभन्दा घातक आगलागी हो । त्यसबेला कम्तीमा १३५ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया