
काठमाडौँ। भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृङ्खलाको पहिलो खेल आइतबार खेलिएको छ। यस खेलमा भारतीय टोलीका अनुभवी ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे।
कोहली र रोहितले दोस्रो विकेटका लागि उत्कृष्ट शतकीय साझेदारी गरे। यो जोडीले एकदिवसीयमा शतकीय साझेदारी गरेको २० औँ पटक हो।
यस खेलमा रोहित शर्माले एउटा ठूलो रेकर्ड बनाए। उनी अब एकदिवसीयमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्। यो खेल अघि रोहितलाई पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्ड तोड्न तीन छक्का आवश्यक थियो।
उनले भारतीय इनिङको २० औँ ओभरमा मार्को जानसेनको बलमा छक्का प्रहार गर्दै अफ्रिदीलाई उछिने।
अफ्रिदीले ३९८ एकदिवसीय खेलमा ३५१ छक्का प्रहार गरेका थिए। जुन रेकर्ड रोहितले अब तोडेका छन्। रोहितले २७७ एकदिवसीय खेलमा ३५२ छक्का प्रहार गरिसकेका छन्।







