
काठमाडौँ। नेपालमा उत्पादित वस्तु तथा सेवाको निर्यात बढाउने गरी सरकारले ‘निर्यात प्रोत्साहन कार्यक्रम’को तयारी गरेको छ। बजेटले उद्योग पूर्वाधार निर्माणको लागि भन्दै छुट्याएको अधिकांश हिस्सा स्वदेशी वस्तु तथा सेवा निर्यातलाई प्रवर्द्धन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ।
निर्यात प्रोत्साहन कार्यक्रम’का लागि हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागलाई कार्यविधि निर्माणको लागि निर्देशन दिइसकेको छ। विभागले निर्यातलाई बढाउन कस्ता पूर्वाधारमा लगानी गर्न सकिन्छ? भन्ने विषय केन्द्रित रहेर हाल कार्यविधिको पहिलो मस्यौदा (ड्राफ्ट)मा काम गरिरहेको छ।
‘हामी प्रारम्भीक चरण (इनिसियल फेज)मा छौँ। कार्यविधि बनिसकेपछि निर्यात बढाउन उल्लेख्य काम गर्न सक्नेछौँ,’ उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालले भने, ‘विदेशी लगानीलाई नेपालमा आकर्षित गर्ने र यहाँ उत्पादित वस्तु र सेवाको निर्यातदरलाई बढाउने नै यो कार्यक्रमको लक्ष्य हुनेछ।’
औद्योगिक पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले बजेटमा विनियोजन गरेको एक अर्ब ५५ करोड रुपैयाँमध्ये ९० करोड रुपैयाँ यही कार्यक्रमको लागि भनेर छुट्याएको विभागले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकको तथ्यांकले नेपालबाट निर्यात बढेको देखिएपछि विभाग यो कार्यक्रमलाई लिएर अझै बढी हौसिएको छ।
‘पछिल्लो समय नेपालमा निर्यातको दर बढेको छ। त्यसो त आयातको दर पनि बढेकै छ। तैपनि हामी यो कार्यक्रमलाई लिएर अझैं सकारात्मक छौँ,’ उद्योग विभाग अन्तर्गत योजना, अनुगमन तथा मूल्यांकन शाखाका निर्देशक सुनिलकुमार यादवले भने, ‘त्यसैले नै पूर्वाधारको लागि आएको रकममध्ये ठूलो हिस्सा निर्यात प्रोत्साहन कार्यक्रमको लागि छुट्याइएको हो।’
यो कार्यविधिको ड्राफ्ट फाइनल भएसँगै मन्त्रालयले कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उनले बताए।
भन्सार विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.५१ प्रतिशतले वस्तु तथा सेवाको निर्यात बढेको छ। साउनदेखि कात्तिकसम्म आइपुग्दा ९३ अर्ब ४९ करोड रुपैयाँभन्दा बढिको वस्तु नेपालले निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले ५२ अर्ब ७७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो।
नेपालले भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, टर्की, फ्रान्स, बंगलादेश, जापान, इटलीलगायत देशहरूमा बढी निर्यात गर्दै आएको छ। बिजुली, गलैंचा, धागो, फलाम र स्टीलका सामान, अलैंची, टेक्स्टाइल, जुस, पश्मिना सल, मसुरो दाल, जडिबुटी लगायत वस्तु तथा सेवाहरू नेपालले बढी निर्यात गर्ने गरेको छ।







