काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिगको दोस्रो सिजनबाट बाहिरिने पहिलो टिम बनेको छ। मंगलबार टियू स्टेडियममा भएको खेलमा पोखरा एभेन्जर्ससँग ३५ रनले पराजित भएसँगै कर्णाली प्ले अफ होडबाट बाहिरिएको हो।

यता, दोस्रो सिजन निकालेसँगै पोखराको प्ले अफ आशा भने कायमै छ। अब बाँकी २ खेलमा जित निकाल्न सके ऊ प्लेअफ पुग्नेछ। ५ खेलमा ४ अंकसहित ऊ चौथो स्थानमा उक्लिएको छ। कर्णालीको ६ खेलमा २ अंकमात्र छ।

 

२०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा अलआउट भयो। उसका लागि मार्क वाटले ३४ बलमा ४ चौका र ५ छक्का मद्दतमा ५९ रन बनाए पनि अन्यले गतिलो साथ दिन सकेनन्।

नाजिबुल्लाह जद्रानले १५ बलमा २४ रन बनाउँदा पवन सर्राफले १९ र प्रियंक पञ्चालले १६ रन बनाए। बलिङमा एनपिएलमा डेब्यू गरेका ऋषि धवन र धनञ्जय लक्सनले समान ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पोखराले एडम रोसिङ्टनले सानदार शतक मद्दतमा २ विकेटको क्षतिमा २०१ रन बनायो। यो एनपिएल इतिहासको दोस्रो २ सय माथिको रन हो। यसअघि जारी सिजन नै विराटनगर किंग्सले पोखराविरुद्ध नै २२० रन बनाएको थियो।

उनले मंगलबार ५८ बलमा ११ चौका र ७ छक्का मद्दतमा नटआउट १०८ रन बनाए। उनको टि–२० करिअरको पहिलो शतक हो। उनले १८६ टि–२० खेल खेल्दै ३५ सय बढी रन बनाएका छन्। यस्तै, अर्का इंग्लिस स्टार खेलाडी जासन रोएले ३४ बलमा २ चौका र ३ छक्का मद्दतमा ४६ रन बनाए। डेब्यू खेलमै उनले रोसिङ्टनसँग दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए।

यस्तै, श्रीलंकन अलराउन्डर धनन्जय लक्सनले ११ बलमा ३ चौका र १ छक्का मद्दतमा २३ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १८ रन बनाए। लक्सनको यो डेब्यू खेल हो।

बलिङमा कर्णालीका लागि नन्दन यादव र मार्क वाटले समान १ विकेट लिए।

तपाईको प्रतिक्रिया