
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण मिलाउँदै मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ।
पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो। तीनवटै शतक विदेशी खेलाडीले बनाएका छन्। नेपाली खेलाडीले हालसम्म शतक बनाउन सकेका छैनन्।
जारी संस्करणको २१औँ खेलमा मङ्गलबार पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक प्रहार गरे। कर्णाली याक्सविरुद्धको खेलमा उनले ५५ बलमा शतक पूरा गरे। ५८ बलमा १०८ रन बनाउँदै उनी अविजित रहे। कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम ‘प्लेयर अफ द म्याच’ घोषित भए। एडम इङ्ल्याण्डका हुन्।
यस्तै कर्णाली याक्समा अनुबन्धित स्कटल्याण्डका मार्क वाटले जारी संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने। उनले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमा शतक बनाएका थिए। ४४ बलमा अविजित ११४ रन बनाएपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए। एनपिएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि वाट नै हुन्।
एनपिएलको पहिलो संस्करणमा भएको एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसले प्रहार गरेका थिए। पोखराको टिममा आबद्ध गोउसले लुम्बिनीविरुद्ध शतक बनाएका थिए। उनले ५४ बलमा शतक पूरा गरे र अविजित १०४ रन बनाए।
अर्धशतकमा पनि विदेशीकै दबदबा
जारी प्रतियोगितामा हालसम्म २२ खेलाडीले २६ अर्धशतक प्रहार गरेका छन्। तीमध्ये १७ अर्धशतक विदेशी खेलाडीकै नाममा छन्। नेपाली खेलाडीले नौ अर्धशतक मात्रै बनाउन सकेका छन्।
अर्धशतक प्रहार गर्ने विदेशी खेलाडीमा चितवन राइनोजका रवी बोपरा (३), कर्णालीका प्रियाङ्क पञ्चाल (२), जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति, माज सदाकत, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, हरमित सिंह, पोखराका सुमित बर्मा, जिमी निशम, एडम रोसिङ्टन, विराटनगर किंग्सका मार्टिन गुप्टिल, चितवनका डेविड मलान, कर्णालीका मार्क वाट र काठमान्डू गोर्खाजका जोन सिम्प्सन (१–१) रहेका छन्।
अर्धशतक प्रहार गर्ने नेपाली खेलाडीमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल (२), सुदूरपश्चिमका विनोद भण्डारी र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम र बसिर अहमद, चितवनका अर्जुन साउँद, जनकपुरका अनिल शाह र आशिफ शेख (१–१) रहेका छन्।
सर्वाधिक रनतर्फ पनि विदेशीको अग्रता
एक्काइस खेल सकिँदासम्म पोखराका एडम रोसिङ्टन पाँच खेलमा २५३ रन बनाउँदै शीर्षस्थानमा छन्।
दोस्रोमा कर्णालीका मार्क वाट (६ खेल, २४२ रन), तेस्रोमा चितवनका रवी बोपरा (५ खेल, २०७ रन), चौथोमा कर्णालीका प्रियाङ्क पञ्चाल (६ खेल, १८१ रन) र पाँचौँमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेल (५ खेल, १७४ रन) छन्।
बलिङमा नेपाली खेलाडी अब्बल
सर्वाधिक रन र व्यक्तिगत स्कोरमा विदेशी खेलाडीको वर्चस्व देखिए पनि बलिङतर्फ भने नेपाली खेलाडी अगाडि छन्।
सुदूरपश्चिमका अभिनाश बोहरा पाँच खेलमा ११ विकेटसहित शीर्षस्थानी छन्। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने पाँच खेलमा १० विकेट लिएर दोस्रोमा छन्। तेस्रो स्थानमा काठमान्डूमा आबद्ध विदेशी खेलाडी मिलिन्द कुमार (६ खेल, १० विकेट) र
चौथोमा काठमान्डूका कप्तान करण केसी (६ खेल, १० विकेट) छन्।
पाँचौँ स्थानमा सुदूरपश्चिमका विदेशी खेलाडी हरमित सिंह ५ खेलमा ९ विकेटसहित छन्।
एनपिएलमा विराटनगर र पोखराको उच्च स्कोर
एनपिएल इतिहासमै उच्च स्कोर बनाउने टोली विराटनगर किंग्स हो। उनले पोखराविरुद्ध २२० रन बनाएका थिए, जुन हालसम्मकै उच्च स्कोर हो।
दोस्रो उच्च स्कोर पोखराको नाममा छ– उनले कर्णालीविरुद्ध २०१ रन जोडेका थिए। सबैभन्दा कम स्कोर चितवनको रहेको छ। चितवनले काठमान्डू गोर्खाजविरुद्ध ८९ रन मात्र बनाएको थियो।
मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणमा आठ टोली सहभागी छन्। हालसम्म सुदूरपश्चिम मात्र प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। अन्य टोलीको निर्णय हुन बाँकी छ।
क्यानको आयोजनामा भइरहेको प्रतियोगिता मङ्सिर २७ गते सम्पन्न हुनेछ।







