काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेण्डामा असफल हुन सक्ने बताएका छन्।

बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले यदि सहि व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छानियो भने देश परिवर्तन हुन गाह्रो हुने भन्दै भाषण गर्न सक्ने व्यक्ति समृद्धिको एजेण्डामा असफल हुन सक्ने बताए।

‘सहि व्यक्ति, सहि समयमा, सहि ठाँउमा हुनुपर्छ । त्यसपछि देश परिवर्तन हुन्छ । त्यसपछि ठूलो परिवर्तन सम्भव हुन्छ । यदि सहि व्यक्ति छानिएन आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छानियो भने देश परिवर्तन हुन गाह्रो छ,’ उनले भने, ‘राजनीतिक परिवर्तन गर्न, भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माण र समृद्धिको एजेण्डामा असफल हुन सक्छन् । त्यसकारण भाषणले होईन कामले गर्नुपर्छ । परिणाम दिनुपर्छ।’

यस्तै, उनले सहि व्यक्तिहरुको छनोट गरेर मन्त्रालयहरु जिम्मा दिएको भए, सहि व्यक्तिहरुलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए आजको अवस्था सिर्जना नहुने पनि बताए।

‘सुशासन, समृद्धि र सामाजिक न्यायको जुन कुरा छ, सुशासन भएन भने देश बन्दैन् । किन हरेक राजनीतिक परिवर्तन पछिका नेताहरु, सरकारहरु किन सफल भएनन् त राजनीतिक परिवर्तनमा उहाँहरु एकदमै अब्बल देखिनु भयो तर त्यही व्यक्तिले विकासको एजेण्डा लिएर अगाडि बढ्दा सफल हुदैँन् रहेछ भन्ने कुरा प्रमाणित भएको छ,’ उनले भने, ‘सहि व्यक्तिहरुको छनोट भएन, सहि व्यक्तिहरुलाई यदि मन्त्रालयहरु जिम्मा दिएको भए, सहि व्यक्तिहरुलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए त्यो अवस्था आउँदैन थियो । प्रधानमन्त्रीदेखि तलसम्मको व्यक्तित्व सहि हुनुपर्छ।’

राजनीतिक परिवर्तन, सिस्टम र आइडोलोजिले मात्र देश नबन्ने भन्दै देश राम्रो बनाउनको लागि सहि नेतृत्व एकदमै जरुरी भएको पनि उनको भनाई छ।

देशमा भएको परिवर्तनबाट देशले निकाश पाउनु पर्ने भन्दै अब फागुन २१ को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्ने उनको भनाई छ।

‘देशलाई फेरि पहिलाकै अवस्थामा कसरी लाने भन्ने कुरा एकदमै महत्वपूर्ण छ र त्यो महत्वपूर्ण जिम्मेवारीमा हामी छौ । यो परिवर्तनबाट देशले निकाश पाउनु पर्छ भनेर लागेका छौं। अब फागुन २१ को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्ने छ,’ उनले भने।

तपाईको प्रतिक्रिया