
काठमाडौँ। दलित जेन-जी अलायन्सले एकपटक सांसद भइसकेको व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार हुन नपाउने व्यवस्था गर्न माग गरेको छ। बुधबार अलायन्सका संयोजक जीवन तिरुवासहित दलित समुदायका अगुवाहरूले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
यसका लागि आवश्यक कानुनहरूमा संशोधनका लागि पहल गर्न र समानुपातिक निर्वाचन प्रणालीको सैद्धान्तिक मान्यताअनुरुप सबै समुदायको प्रतिनिधित्व हुने गरी व्यवस्था गर्न उनीहरूको माग छ।
‘जुनसुकै प्रणालीबाट सांसद भएपनि एकपटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकतर्फ उम्मेदवार नै हुन नपाउने आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता छ,’ संयोजक तिरुवाले भने, ‘त्यसका लागि हामीले आयोगलाई ध्यानाकर्षण गराएका छौँ।
‘ अहिले दलहरूले आ-आफ्नै अनुकुलतामा समानुपातिकतर्फ उम्मेदवार बनाउने गर्दा सही पात्रहरू संसद्मा पुग्न नसकेको, र कतिपय व्यक्तिहरू दोहोरिएर बन्दा समानुपातिक प्रणाली दुषित बनेको उनीहरूको भनाइ छ।







