
काठमाडाै । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति घोषणा भएसँगै आगामी नेतृत्वको चर्चा सुरु भएको छ । जेन-जी आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थितिलाई कांग्रेसको नेतृत्वमा पनि युवा नेताहरूको चर्चा हुन थालेको हो। कतिपय नेताहरूले उम्मेदवारी नै घोषणा गरेर तयारी अघि बढाएका छन्। कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ।
महाधिवेशनको मिति टुंगो लागेसँगै वडादेखि केन्द्रसम्म कांग्रेसजनलाई महाधिवेशन लागेको छ। यसपटक वडादेखि केन्द्रसम्मै युवा पुस्ताको वर्चस्व हुने देखिएको छ। पार्टीले क्रियाशील सदस्यता सबैका लागि खुला गरेको र त्यहीकारण युवा पुस्ताका नेताहरूको सम्भावना बढेको पनि नेताहरूको भनाइ छ।
१५औँ महाधिवशेनमा सभापतिका लागि दर्जनभन्दा बढी आकांक्षी देखिएका छन्।
१४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका डा.शेखर कोइराला यसपटक पनि पुन: सभापतिको उम्मेदवार बन्ने तयारीमा छन्। उनले लामो समयदेखि सभापतिकै लागि तयारी गर्दै देशदौडाहा गरिरहेका छन्। पार्टीमा संस्थापनइतर पक्षको नेतृत्वमा रहेका कोइरालासँग कोइराला परिवारको विरासत समेत छ।
तेश्रो कार्यकाल सभापति बन्न नपाउने व्यवस्थाका कारण यसपटक शेरबहादुर देउवाले सम्मानजनक विदाइ रोज्नैपर्ने बाध्यता छ। तर उनको समर्थन कसले पाउने वा उनको समर्थनमा कसले उम्मेदवारी दिने भन्ने अन्योल छ। नेताहरू देउवाको समर्थन पाउने दौडधुप गरिरहेका छन्। देउवा समूहबाट उपसभापति तथा वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सभापतिका आकांक्षी छन्।
महामन्त्री गगनकुमार थापाले पनि हालै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हिमालय टेलिभिजनसँगको एक अन्तरवार्तामा उनले आफू कुनै पनि हालतमा सभापतिको उम्मेदवार भएको घोषणा गरे। अर्का उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने महाधिवेशनमा कुन पदमा लड्ने भन्ने खुलाएका छैनन्। सभापतिकै लागि पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, विमलेन्द्र निधि लगायतका नेताहरूले पनि दौडधुप गरिरहेका छन्।
शीर्ष नेताहरू सबै सभापतिका लागि प्रत्यासी बन्ने चर्चा हुँदा त्यसबाहेकका पदमा भने युवा पुस्ताका नेताहरूको चर्चा छ। युवामाझ लोकप्रिय रहेका नेता भुपेन्द्रजंग शाहीले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी थालेका छन्। नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री हुँदै २०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार बनेका शाहीले २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । शाही अघिल्लो १४औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्याशी थिए । शाहीले पछिल्लो २ वर्षसम्म निरन्तर युवा र जेन-जी पुस्तासँग जोडिएर काम गरेका छन्।
संगठनको काममा सधैं खटिरहने र केही न केही नौलो कार्य गरिरहने शाही कांग्रेस पार्टीका जुझारु, ऊर्जा–शिल, सिर्जनशील र क्रियाशिल नेतामा पर्छन् । पार्टीका विभिन्न अभियान, कार्यक्रम, गाउँ अभियान र जिल्ला दौडाहा गरिरहने चलायमान नेताको छवि बनाएका शाही पार्टीका स्पष्ट वक्ताका रूपमा कसैको पनि गलत निर्णयमा नडराई कडा प्रश्न गर्ने सशक्त युवा नेता मानिन्छन् । शाहीले जेनजी आन्दोलनको बेला पनि नडराई पार्टीको पक्षमा वकालत गरेका थिए । पार्टीका अधिकांश नेता जेन-जी विद्रोहपछिको विषम परिस्थितिमा मौन बसिरहेको बेला युवा नेता शाहीले खरो रूपमा देशभर भएको आगजनी र अराजकताको चर्को विरोध गरेका थिए ।
उनले देशभर सङ्कटको बखत आपसी मेलमिलाप र एकताको आवश्यकता हुने भन्दै पार्टीमा हौसला र भरोसा जगाउने अभिव्यक्ति दिएका थिए । पार्टीमा विशेष कि नियमित महाधिवेशन भनेर काठमाडौंमा आन्तरिक लडाइँ गरेर नेताहरूले व्यर्थमा समय खेर फाल्दा युवा नेता शाहीले कालिकोटका गाउँबस्तीहरूमा पुगेर जनता सङ्ग भेटघाट तथा संवाद गरेका थिए ।
कांग्रेस पार्टी आन्तरिक झमेलामा फसेर राजधानीमै अलमलिरहेको बेला नेता शाहीले गाउँगाउँ पुगेर अहिलेको परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने, सूचित गराउने, पार्टीको स्पष्ट धारणा राखेका उनले पार्टीभित्र आफ्नो वैचारिक अडान सधैं प्रस्ट राख्दै आएका छन् । पछिल्लो समय निर्वाचनको बेला माओवादीसँग गठबन्धन गर्नु हुँदैन, एक्लै चुनाव लड्नुपर्छ भनेर खरो आवाज उठाएका शाहीले पार्टीमा निश्चित मान्छेहरूको हालीमुहाली हुनु र सधैं एउटै मान्छेले मात्रै अवसर पाउनु अन्याय भएको भन्दै सबैलाई न्याय र समान अवसर हुनुपर्ने आवाज उठाइरहेका छन् ।
पार्टी प्रणालीमा चल्नुपर्ने, नातावादको अन्त्य हुनुपर्ने, सत्ता–केन्द्रित पार्टी नभई जनता–केन्द्रित पार्टी बनाउनुपर्ने, पैसा र शक्तिको भरमा नभई नैतिक मूल्य र मान्यताको आधारमा विचार–सिद्धान्तको राजनीति हुनुपर्नेमा उनले जोड दिएका छन् । नेताको वरिपरि घुमेर भजन गाउनेभन्दा नेताहरूको गल्ती र कमजोरीमा औंला उठाएर खबरदारी गर्नुपर्ने उनको धारणा छ । उनले पार्टी सुधार र रूपान्तरणका लागि कडा रूपमा चुनौती दिएका भाषणहरू निकै भाइरल छन् ।
शाही राजनीति सँगै साहित्य र सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् । कर्णालीमा जन्मिएर कठिन सङ्घर्षबाट केन्द्रीय राजनीतिमा स्थापित हुन लागिपरेका शाहीले पछिल्लो एक वर्षमा धेरै कार्यक्रम र अभियान चलाएका छन् ।
शाही अघिल्लो वर्ष २०८० जेठ ११ गतेबाट नेपाली कांग्रेस रूपान्तरण अभियान सञ्चालन गरेर मेचीदेखि महाकालीसम्म संगठन निर्माणका लागि गाउँ–जिल्ला सम्म पुगेका थिए । शाही कर्णालीमा २०८० चैत २ गतेबाट संगठन सुदृढ यात्रा ‘सल्यान कपुरकोटदेखि हुम्ला सिमिकोट’ सम्म कठिन भूगोलमा कर्णालीका गाउँबस्ती पुगेर कांग्रेसमा नयाँ जागरण र नयाँ ऊर्जा, नयाँ भरोसा जगाउने काम गर्दै आएका छन् ।
युवा विशेष भेला २०८० वैशाख २१ गते, रूपान्तरण अभियान जेठ ११ गते, उद्यमशीलता उत्प्रेरणा सम्मेलन २०८० साउन ३१ गते, युवा विचार सम्मेलन २०८० भदौ २४ गते, महिला विशेष कार्यक्रम २०८० भदौ २९ गते, शुभकामना सांगीतिक साँझ २०८० असोज २९ गते, महासमिति मन्थन भेला २०८० फागुन ४ गते, विशेष चियापान फागुन ६ गते, कर्णाली यात्रा २०८० चैत २ गते, कर्णाली प्रदेश सुर्खेतमा युवा उद्यमी सम्मेलन २०८१ असार १९ गते, २०८१ भदौ २८ गते ‘नेपाल युथ समिट’ लगायत विविध कार्यक्रम गरेका थिए । जसमा ५ सयभन्दा बढी विभिन्न विधाका युवाहरूको सहभागितामा भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको थियो ।
पछिल्लो समय जेनजीले उठाएका मुद्दा एक वर्ष अगाडि नै २०८१ कात्तिक २३ गतेबाट पूर्व मेचिनगरदेखि पश्चिम महेन्द्रनगरसम्म युवा सङ्कल्प यात्रा गरेर देशभर युवाका एजेन्डा, भ्रष्टाचारको अन्त्य, सुशासन, युवालाई रोजगारीको ग्यारेन्टी, नागरिक–मैत्री सरकार, उद्यमशीलता र कृषिमा युवालाई जोडेर अगाडि बढ्न नेता शाहीले सरकारलाई समयमै ध्यानाकर्षण गरेका थिए ।
यसैगरी युवाहरूलाई जोड्न २०८१ माघ ११–१२ गते कर्णाली युथ फेस्टिवल सुर्खेतमा सम्पन्न गरेका थिए । एक्सन ओरियन्टेड नेताको पहिचान बनाएका उनले गरेका यी विभिन्न गतिविधिले उनको ऊर्जा, जोसजाँगर, केही गर्ने हुटहुटी, काम गर्न सक्ने क्षमता र योग्यता छ भन्ने पुष्टि भएको कांग्रेस नेताहरू नै बताउँछन् ।
नेपाली कांग्रेसमा आगामी महाधिवेशनको चर्चा सुरु भइरहँदा कांग्रेसको महाधिवेशनबाट पार्टीमा आमूल रूपान्तरणको खाँचो रहेको युवा नेता शाहीले बताएका छन् । ‘पार्टी अब पुरानो लय, गतिहीन, परम्परावादी, कामचलाउ पारामा चल्न सक्दैन । अब पार्टीभित्रको गुटबन्दी, नातावाद, भागबन्डा, व्यक्तिगत स्वार्थ, पदीय स्वार्थ र चाकडीवादको राजनीति अन्त्य हुनुपर्छ’ उनले भने । शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीका नेताहरूले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाई गम्भीर ढङ्गले बुझ्नुपर्ने औंल्याएका छन् ।
त्यसो त यसपटक महामन्त्रीका लागि युवा नेताहरूबीचमै प्रतिस्पर्धा हुने देखिएको छ। पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि महामन्त्रीमै उम्मेदवारी दिने तयारी छन्। उनी यसअघि १४औँ महाधिवेशनमा सभापति देउवाको टीमबाट महामन्त्री उम्मेदवार बनेका थिए। सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार, किशोरसिंह राठोर लगायतका नेताहरूको पनि महामन्त्रीमा चर्चा छ। नेविसंघका पूर्वसभापति नैनसिंह महरले पनि ३ वर्षदेखि महामन्त्रीको लागि तयारी गरिरहेको बताउँछन्।
सभापतिबाहेकका पदमा युवा नेताहरूबीचमै उच्च प्रतिस्पर्धा हुने नेताहरू बताउँछन्।







