
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूर्ण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको बताए।
सञ्चारमन्त्री खरेल भन्छन्, ‘संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ। निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण सुनिश्चित भएको छ।’
यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय हुँदै आएकामा, निर्वाचनसँग सम्बन्धित सबै सरोकारवालासँग एकै थलोमा भएको छलफलले निर्वाचनको माहोल बनेको उनको भनाइ छ।
मन्त्री खरेलले सरकारका तर्फबाट संयुक्त सुरक्षाको कार्ययोजना र रणनीति तयार गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै, यही विषयमा केन्द्रित भएर सम्भावित सुरक्षा चुनौती र व्यवस्थापकीय सरोकारबारे गम्भीर छलफल भएको बताए।
‘विगतका निर्वाचनहरूमा जेजस्ता चुनौती देखिएका थिए, फेक न्यूज, मिस इन्फरमेसन, डिसइन्फरमेसनबारे खुलेर कुराकानी भएको छ’, उनी भन्छन्, ‘यी सवालमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा चुनौतीको सामना गर्ने तयारी तथा निर्वाचन सुरक्षाको सम्पूर्ण वातावरण बनाउन सरकारको प्रतिबद्धता प्रस्तुत गरेका छन्। केही दलले सुरक्षालगायत आवश्यक वातावरण बनाउन चासो देखाएका छन्, सरकारले त्यसप्रति पूर्ण रुपमा ध्यान दिएको छ।’
मन्त्री खरेलका अनुसार पछिल्लो समय सरकारले निर्वाचनको वातावरणका लागि संवादलाई निरन्तरता दिएको, जनता उत्साहित भएको र राजनीतिक दलहरू पनि निर्वाचनको माहोल बनाउन केन्द्रित रहेका छन्।
सरकारका प्रवक्ताका रुपमा रहेका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले जेनजी सहिद र घाइते परिवारको सरोकारलाई विशेष प्राथमिकता दिएको पनि स्पष्टीकरण गर्छन्।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको सन्दर्भमा आज सरकार, प्रमुख राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूबीच संयुक्त बैठक बसेको हो।







