काठमाडौं। नेपाल वायुसेवा निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापन र दायित्व एकिनका विषयमा सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीसँग छलफल सुरु गरेको छ।

पछिल्लो समय ऋणको आकार बढ्दै गएको अवस्थालाई व्यवस्थापनका लागि स्पष्ट योजना तयार गर्न निगमले छलफल सुरु गरेको हो। दुवै पक्षबीच लामो समयदेखिको सम्वादहिनतालाई तोड्दै निगमका उच्च पदाधिकारीको टोलीले दुवै कोषका शीर्ष अधिकारीसँग विस्तृत रूपमा छलफल गरेको निगमले जनाएको छ।

निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठको नेतृत्वमा गएको टोलीले विशेषगरी निगमले तिर्नुपर्ने कुल ऋण रकम स्पष्ट नभएको, दुई पक्षबीच तथ्यमा एकरूपता नदेखिएको लगायत विषय उठाएको थियो।

छलफलका क्रममा ऋण रकम निरन्तर बढ्दै गएकाले बक्यौता रकमको वास्तविकता मिलाएर एकरूप अभिलेख बनाउने, ब्याज मिनाहा वा छुटका सम्भावित विकल्प एकिन गर्ने, तथा ऋण तिर्ने तालिका पुनःसमायोजन गर्ने जस्ता विषयमा गम्भीर बहस भएको कार्यकारी सञ्चालक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, निगमको वास्तविक भुक्तानी क्षमता र दुवै कोषको आन्तरिक नीति मिलाएर व्यावहारिक समाधान निकाल्ने साझा इच्छा छलफलमा देखिएको छ।

वायुसेवा निगमलाई निजीकरण गरेर जोगाउने कि यत्तिकै सिध्याउने?

हालको छलफललाई ‘उपलब्धिमूलक र सकारात्मक सुरुवात’ भन्दै दुवै ऋणदाता र ऋणी संस्थाबीचको अविश्वास घटाउने, तथ्य–दस्तावेज मिलाउने तथा सहमतिको आधार निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा कार्यकारी सञ्चालक श्रेष्ठले उल्लेख गर्नुभयो।

निगमले आगामी दिनमा पनि दुवै निकायसँग निरन्तर गहन छलफल गरेर समाधान निकाल्ने योजना बनाएको छ।

ऋण दायित्व ५० अर्ब बढी

निगमले साख निरन्तर गुमाइरहेको छ भने ऋण दायित्व बढेर ५० अर्ब रुपैयाँ पुगेको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट विमान खरिद गर्न लिएको ३० अर्ब रुपैयाँ ऋण तिर्न सकेको छैन।

विमान अभाव र कर्मचारीहरूको बदमासीले अन्तर्राष्ट्रिय बजारमा निगमको साख गुम्दै गएको छ। समय समयमा कर्मचारीहरूको मिलेमतोमा प्राविधिक समस्या देखाएर विमानहरू ग्राउन्डेड गरिँदै आएको छ।

वायुसेवामा चरम वेथिती,आफ्नो इन्जिन राखेर भाडाको चलाएपछि प्रधानमन्त्रीले लिइन एक्सन

निगमको मुख्य स्रोत भनेको जहाज सञ्चालनबाट भन्दा विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ नै हो। वर्षको दुई अर्ब रुपैयाँभन्दा बढी आम्दानी ग्राउन्ड ह्यान्डलिङबाट हुने गरेको छ।

नयाँ जहाज किन्न निगमले प्रक्रिया अघि बढाए पनि पुरानो ऋण चुक्ता नगरेको भन्दै सञ्चय कोष र नागरिक लगानी कोषले ऋण दिन अस्वीकार गरेपछि प्रक्रिया अघि बढेको छैन।

सबैभन्दा बढी घाटामा वायुसेवा निगम

गत आर्थिक वर्ष २०८०/०८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्नेमा नेपाल वायुसेवा निगम रहेको सरकारी तथ्यांकले देखाएको छ। सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार निगम ०८०/०८१ मा १६ अर्ब ६८ करोड सात लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ।

यस्तै, निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवा–ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयनजस्ता कारणले निरन्तर घाटा बढ्दै गएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक समीक्षामा उल्लेख छ।

गत वर्ष निगमको नोक्सान एक अर्ब चार करोड रुपैयाँ थपिएको अर्थले जनाएको छ। यसबीचमा निगमको खुद सम्पत्ति पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँ ऋणात्मक छ। निगमसँग भएका चार जहाज पनि प्रभावकारी रूपमा चल्न सकेका छैनन्। जहाज उडाएर निगमले खर्च धान्न सक्ने अवस्था अहिले छैन।

तपाईको प्रतिक्रिया