
मोरङ । मोरङको लेटाङ नगरपालिका-२ फडानी गाउँकी ११ वर्षीय बालिका अंशु गौतमको बलात्कारपछि विभत्स हत्याका अभियुक्त ५९ वर्षीय पदम अधिकारी पक्राउ गरेका छन्। प्रहरीले गौतमको हत्याका आरोपित अधिकारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
…..
गौतमको घरमा दसैंको उल्लास सकिने तरखरमा थियो । एक्कासि नवीन गौतमको घरमा चिन्ताको माहोल आइपर्यो। कारण थियो- २१ असोजको दिउँसो घरबाट ११ वर्षीया छोरी अंशु हराइन् ।
हराएको दुई सातापछि बेलबारी–चिसाङ साझेदारी वनभित्र अंशु मृत अवस्थामा फेला परिन्। ११ वर्षकी उनी घर नजिकै लक्ष्मी माविमा कक्षा ५ मा पढ्दै थिइन् । २१ असोज कोजाग्रत पूर्णिमाका दिन दिउँसो घरबाट ‘पिङ खेल्न जान्छु’ भन्दै उनी निस्किइन् । साँझसम्म घर नफर्किएपछि परिवारले गाउँ–टोल खोजे । साथीसंगीलाई सोधे ।
नजिकैको जंगल चहारे । तर, उनको अत्तोपत्तो भएन । अन्ततः प्रहरीमा निवेदन दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङमार्फत सबै जिल्ला प्रहरी कार्यालयमा हुलिया परिपत्र जारी भयो । परिपत्रलगत्तै इलाका प्रहरी कार्यालय लेटाङ, प्रहरी चौकी बुधबारे, नेपाली सेना, आफन्त र स्थानीयवासीसहित ‘जंगल सर्च’ अभियान नै चलाइयो ।
प्रहरीले सशंकित व्यक्तिहरुलाई निगरानी र सोधपुछ जारी राखेको थियो । अंशु हराएको १८ दिनपछि अर्थात् कात्तिक ७ गते करिब १ वजे दिउँसो घाँस काट्न गएका लोचन शाहीसहितका तीनजनाले एउटा शंकास्पद शव फेला पारेको सूचना प्रहरीलाई दिए ।
लेटाङ-२ बेलबारी–चिसाङ साझेदारी वनक्षेत्रमा सडेगलेको, कम्मरभन्दा तलको भाग र टाउको मात्रै रहेको शव प्रहरीले फेला पार्यो । घटनास्थलमा फेला परेको चप्पल, कालो हाफपाइन्ट र कालो घडीका आधारमा बुबा नवीनले छोरीको शव पहिचान गरे ।
जंगलमा भेटिएको शव हेर्दा अत्यन्त क्रूर तरिकाले हत्या भएको देखिन्थ्यो । परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो । त्यही आधारमा अपराधी पक्राउ नपरुन्जेल परिवारले शव बुझ्न अस्वीकार गरेको थियो । अंशुको शव डेढ महिनादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
पोस्टमार्टम, डीएनए परीक्षण लगायतका प्रक्रिया पूरा गरी न्याय सुनिश्चित हुनुपर्ने भन्दै परिवारले अझै शव बुझेका छैनन् । हालै अभियुक्त पक्राउ परिसकेका कारण अब शव परिवारलाई जिम्मा दिने प्रहरीको भनाइ छ । अंशुको डीएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको थियो । तर त्यसको रिपोर्ट अझै आइसकेको छैन ।
कात्तिक ७ मा शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली घटनास्थल पुगेर थप अनुसन्धान अघि बढायो । डीएसपी कोपिला चुँडालको कमान्डमा पाँच सदस्यीय विशेष अनुसन्धान टोली बनाएर प्रहरीले अनसन्धान गर्यो । जसलाई ‘अपरेसन जग’ नाम दिइएको थियो ।
साथै केन्द्रीय अपराध अनुसन्धान ब्युरो र प्रदेश प्रहरीको विशेष टोलीसमेत अनुसन्धानमा खटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले ३ सयभन्दा बढी मान्छेसँग प्रत्यक्ष संवाद गर्यो । १६ जनाको त पोलीग्राफ परीक्षण नै गर्यो । प्राविधिक अनुसन्धानका लागि सीसीटीभी फुटेज, फरेन्सिक प्रमाण संकलन गर्नुका साथै घटनास्थलको वैज्ञानिक विश्लेषण गर्यो । यस क्रममा प्रहरीले अपराधको मोडालिटी, अपराधीको मनोविज्ञान लगायतका विषयमा पनि गम्भीर अध्ययन गरेको थियो ।
यो घटनामा प्रहरीले मुख्य अभियुक्तका रुपमा ५९ वर्षीय पदम अधिकारीलाई भारतको असमस्थित तीनसुकियाबाट पक्राउ गरी ल्याएको थियो । उनी मृतक अंशुकै छिमेकी हुन् । असोज २१ गते अंशुकी मिल्ने साथीसँग स्कुल नजिकै खेलिरहेको अवस्थामा पदमले भेटेका थिए । खेलिरहेकी साथीलाई ५ रुपैयाँ दिएर पदमले अन्तै पठाए । त्यही बेला उनले अंशुलाई घाँस काट्न जान लागेकाले सहयोग गरिदिन भने ।
अंशुले ‘हुन्छ’ भनेपछि साइकलको क्यारिअरमा अंशुलाई राखेर घरदेखि करिब ४ किलोमिटर टाढा जंगलमा लगे । पहिला बलात्कार गरे । अंशुले गुहार मागिन् । तर, त्यो अनकन्टार जंगलमा उनको आवाज विलिन भयो । बलात्कारपछि घटना थाहा हुने डरले पहिला घाँटी थिचे अनि घाँस काट्न लगिएको हँसियाले रेटेर अंशुको हत्या गरेको अधिकारीले प्रहरीलाई वयान दिएका छन्।







