
दिपेश रोक्का / काठमाडौं। नेपाली कांग्रेसले मोरङ क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि डा. सुनिलकुमार शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिको बैठकले शर्मालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो। शर्माले ०७९ को निर्वाचनमा यहाँबाट निर्वाचित भएका थिए।
उनले बनाएको बलियो जनपर्खाल, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा गरेको महत्वपूर्ण योगदान, सरल व्यवहार र जनमुखी कार्यशैलीका कारण यहाँबाट उनको नाम सर्वसम्मत रूपमा अघि सारिएको हो। स्वास्थ्य र शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएका शर्मा पछिल्लो समय खरो राजनीतिक टिप्पणी र आलोचनात्मक अभिव्यक्तिका लागि चर्चामा आइरहन्छन्। शर्माले पूर्वी नेपालमा जनस्तरमा पुगेर सेवा गरिरहेका छन्।
कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरिरहेको छ। क्षेत्रीय समितिले सिफारिस गरेका नाममाथि जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति हुँदै केन्द्रीय बोर्डले टिकट वितरण गर्ने कांग्रेसको विधान छ ।
मोरङ-३ मा भने शर्मा नै निर्विकल्प उम्मेदवार देखिएका छन्।







