
आज राजनीतक पार्टीहरू च्याउ जस्तै उम्रिरहेका छन्। तर राजनीतिक पार्टीहरुको एउटै लक्ष्य स्थानीय सरकारहरुलाई आर्थिक रुपमा सशक्त र सुसासन सहितको समृद्ध बनाउने नीति हुनुपर्छ ।
आज सहरका सम्पन्न स्थानीय तहहरुले विकासका नाममा काम गर्ने ठाउँ देखेका छैनन्, उनीहरूसँग ट्वाइलेट बनाउने ठाउँ समेत छैन । तर त्यही सहरमा संघ, प्रदेश र स्थानीय सरकारहरुले कालोपत्र सडकमा पहिले बिछ्याएकै टायल उप्काएर नयाँ लगाउन बजेट राखेर झगडा गरिरहेका छन्। तर पहाडी र हिमाली गाउँहरूको अवस्था भिन्न छ। गाउँमा पिउने पानी छैन। तमोर, कोशी हेरेर तिर्खा मेट्नपर्ने स्थिति बनिरहेको छ। पानी पर्ने मौसम अन्दाज गरेर वर्षभरिको जोहो साँच्नुपर्छ ।
गाउँको ठुटेनेता, मास्टर, कर्मचारी किन नहोस्, जे जसो गरेर भएपनि गाउँ छोडेर सहर झरेको छ । जे जति गर्छन्, सहरमै गर्छन् । ऊ प्रधानमन्त्री नै किन नबनोस्, सचिव किन नबनोस्, उसले ऊ बसाइँ सरेर आएको सहरमै लगानी गर्ने प्रवृत्ति देखिएको छ।
यसकारण बजेट बेगरको गाउँ सहरसँग बेखबर छ । तर आज सुन्छु, नेपालले १ अर्ब पैसा ल्यायो रे ! क्लाईमेट चेन्जको रिस्क (जलवायु परिवर्तनको असर) घटाउन । गाउँसँग हिमाल, पहाड, वनजंगल, खोला नदी छ । पशुपन्छी सबै छ । निलो आकाश छ । यसकारण सहरले सास फेरेको छ ।
तर सहरमै मान्छे थोपरिएका छन् । राजश्व पनि त्यही उठ्छ र बजेटपनि सहरमै थोपरिन्छ। जब चुनाव आउँछ, दलहरू मतदाता भुलाउने राजनीतिक एजेन्डा खोज्न थाल्छन्। नेताहरू दल फेर्छन्, दल खोल्छन्। तर दुःखको कुरा गाउँ बनाऔँ भन्ने कुनै पार्टीको अजेण्डा बनेन। यसका लागि स्थानीय सरकार/निकाय आर्थिक रुपमा शसक्त बनाउनुपर्छ ।
स्थानीय तहको संख्या ठुलो छ। यसलाई संविधान संशोधन गर्दा घटाएर २५० देखि ३०० को हाराहारीमा ल्याउनु उपयुक्त हुन्छ। प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरुको संख्या आधीभन्दा बढी घटाउनुपर्छ । एक तिहाइ स्कुलहरु मर्ज गर्नुपर्छ । यस्तो अवस्थामा तत्कालका लागि पालिकाहरुमा बजेटको उचित व्यवस्थापन हुन सक्छ । जेन-जी सरकारको पनि यो अजेण्डा बनेन । आ-आफ्ना ठाउँमा डटेर केही गर्न सकिन्छ ।
मैले के गरेँ ?
मैले करिब एक दशकदेखि लालीगुराँस नगरपालिकाको नेतृत्व गरिरहेको छु। हामीले आन्तरिक श्रोतको उठ्ती राजश्वले प्लस-टुका विद्यार्थीलाई नि:शुल्क शिक्षाका लागि आवास, खानाको व्यवस्थापन गरेको छु । स्कुल बसहरु सञ्चालनमा ल्याउँदैछौं ।
त्यस्तै, अर्गानिक खेतीका लागि आवश्यक उपकरणदेखि पाइप, टनेल, पानी राख्ने ड्रम निशुल्क वितरण गरिएको छ। उत्पादित सामाग्रीहरुको बजार ब्यवस्थापन गर्ने नीति लिएको छ । कृषि एम्बुलेन्सहरु सञ्चालनमा छन्। बिरामीका लागि एम्बुलेन्सहरु सञ्चालनमा छन्। भिडिओ एक्स-रे, डिजिटल एक्स-रे, ल्याब सञ्चालनमा छन्। पालिकाको आफ्नै चेनवाला एक्जाभेटर छ । भ्याकु छ । सडकहरु हिउंद, वर्षा सञ्चालनमा छन् ।
नगरपालिकाको आफ्नै नगर बस छ । किसानका दूध बोक्नेदेखि फोहोर बोक्ने ट्रयाक्टरहरु छन्। बिरामी बोक्ने एम्बुलेन्सहरु छन्। दमकल छन्। पालिकाको ११ साइजको फुटबल रंगशाला छ । ब्याडमिन्टन, टी-टी, बास्केटबल खेल्न मिल्ने दुई-दुईवटा कभर्डहल छन् । युमा संग्रहालय छ । चो?लुङपार्क छ । पार्कबाट मात्रै वर्षमा १५ लाख सम्म राजश्व उठ्छ । आज लालीगुरांस नगरपालिकाको राजश्व वार्षिक १ करोड ५० लाखको हाराहारीमा उठ्छ । ताकि ८ वर्ष पहिले ३० देखि ४० लाखमा सीमित थियो ।
आज चोलुङ पार्क संसारभरिका मान्छेको घुम्ने गन्तव्य बनेको छ । सिंगापुरदेखि अमेरिका सम्मका मान्छेले नेपाल हेर्न आउने र नेपालको परम्परा र विकास उनीहरुले पनि सिको गरेपछि मात्र हामीले भन्न मिल्छ कि हामीले नेपाललाई सिंगापुर, अमेरिका हैन, संमृद्ध नेपाल बनायौं।
(माबुहाङ तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर हुन्। यो लेख उनको सामाजिक सञ्जालबाट साभार गरिएको हो।)







