
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता पछिको काठमाडौंमा आयोजना भएको यो पहिलो औपचारिक सभा हो ।
उक्त सभालाई ‘संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको छ । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर समेत रहेका पार्टी अध्यक्ष हर्क साम्पाङ, मित्र परियार लगायतका नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । साम्पाङले पानसमा बत्ती बालेर कार्यक्रम उदघाटन गरेका छन् ।
कार्यक्रममा सहभागीहरु नेपालको राष्ट्रिय झण्डा सहित सहभागी छन् । उनीहरुले प्लेकार्डमा प्रिन्ट गरिएको पार्टीको चुनाव चिह्न लिएका छन् । श्रम संस्कृति पार्टीले दुई हातको अँजुलीमा लिएको माटो चुनाव चिह्न पाएको छ ।







