
काठमाडौँ। सरकारले दिवङ्गत पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सुरेश रजकलाई राज्यतर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको जानकारी दिए। विस २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगजनीमा परेर पत्रकार रजकको मृत्यु भएको थियो। दिवङ्गत रजकलाई सहिद घोषणा गर्न उनका परिवारजनले माग गर्दै आएका थिए भने नेपाल पत्रकार महासंघले पनि रजकलाई सहीद घोषणा गर्न माग गर्दै आएको थियो।
यसअघि सरकारले दिवङ्गत रजककी श्रीमती सुजन मगियालाई रोजगारी उपलब्ध गराइसकेको थियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षा मुद्रण केन्द्रमा उनलाई ‘कम्प्युटर अपरेटर’ पदमा नियुक्त गरिएको हो।
त्यस्तै, बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत तथा सहायता उपलब्ध गराउने कार्यविधि–२०८२ स्वीकृत गरेको छ। साथै जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।







