
काठमाडौं । शनिवार राति उत्तरी गोवाको नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीमा परी ज्यान गुमाउने संख्या २५ पुगेको छ जसमध्ये पाँच जना नेपाली रहेको दिल्लीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।
गोवा प्रहरीले दिएको विवरणअनुसार पाँच जना उक्त स्थानमा काम गर्ने कर्मचारी रहेका छन् ।
सोमवार बिहान सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै दिल्लीस्थित नेपाली राजदूत डा शङ्कर शर्माले गोवाको अर्पोरास्थित ‘बर्च बाइ रोमियो लेन’ नाइटक्लबमा भएको आगलागीमा ज्यान गुमाउने नेपालीहरूका परिवारजनसँग सम्पर्क गर्ने प्रयास भइरहेको उल्लेख गरे।
दूतावास नियोगका उपप्रमुख सुरेन्द्र थापा का अनुसार ‘पाँच मृतकको नाम र राष्ट्रियता त्यहाँकै कर्मचारीहरूले पहिचान गरेको आधारमा नेपाली भन्ने खुलेको जानकारी दिए ।
थापाका अनुसार सोमवार साँझसम्म एक जनाको शव दाङको घोराही पठाइ सकिएको छ भने झापाका दुई र डडेलधुरा तथा सिन्धुलीका एकएक जनाको शव मङ्गलवार पठाइने छ।
गोवा प्रहरीले पोस्टमार्टमपछि उनीहरूले शव हस्तान्तरण गर्ने र मृतकका परिवारजनको खोजबिन गर्दै शव पहिचान पश्चात् नेपाल फर्काउने प्रक्रियामा दूतावासले सहजीकरण गर्ने उनले बताए।







