भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई १०१ विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूले भक्तपुरको लोकन्थली, थिमी स्थित चन्द निवासमा सामूहिक अभिनन्दन गरेका छन्।

साहित्यिक पत्रकार संघ मूल आयोजक तथा तारा किशन फाउन्डेसन र नेपाल स्रष्टा समाज सहआयोजक रहेको समारोहमा राधेश्याम लेकाली, सहआयोजक श्रीओम श्रेष्ठ, किशनसिंह धामी र समालोचक प्रमोद प्रधान मञ्चासीन थिए।

अभिनन्दन समारोहका अध्यक्ष र कार्यक्रम संयोजक राधेश्याम लेकालीले स्वागत सम्बोधन गरेका थिए। सुदूरपश्चिम, बैतडीका स्थानीय कलाकारले लोकनृत्य ‘छलिया’ तथा बाजागाजासहित सामूहिक अभिनन्दनमा सहभागिता जनाए।

लेकालीले स्वागत मन्तव्यमा भने — “मदन पुरस्कार प्राप्त विशिष्ट सर्जक लोकेन्द्रबहादुर चन्दलाई राजनीतिज्ञभन्दा पनि वरिष्ठ सर्जकका रूपमा जिउँदै सम्मान गर्न थालिएको हो। यसअघि साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, कथाकार पद्मावती सिंह, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा लगायतका सर्जकलाई पनि सामूहिक सम्मान गरिसकिएको छ। यो कार्यक्रम तारा किशन फाउन्डेसनले पूरा सहयोग गरेको छ।”

वरिष्ठ समालोचक प्रमोद प्रधानले सर्जक लोकेन्द्रबहादुर चन्दको साहित्यिक व्यक्तित्व र कृतित्वबारे विस्तृत चर्चा गरे।

साहित्यकार श्रीओम श्रेष्ठले अभिनन्दनपत्र वाचन गरेका थिए।

अभिनन्दनपत्रमा भनिएको छ — कुनै पनि देश र जातिको मूल पहिचान भाषा, साहित्य, कला, संस्कृति तथा मौलिक परम्परा हो। यिनै आधारमा उभिएर आख्यान र निबन्ध सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका बहुआयामिक व्यक्तित्व, वरिष्ठ सर्जक लोकेन्द्रबहादुर चन्दलाई विशेष समारोहमा अभिनन्दन गरिएको हो।

लामो राजनीतिक यात्रामा विशेष पहिचान र योगदान स्थापित गर्ने मात्र होइन, स्वच्छ र शालीन छवि बनाउँदै आएका तिमीले आफ्ना रचना तथा सिर्जनाका माध्यमबाट नेपाल र नेपाली जनताको हितमा अविचल रूपमा उभिँदै छ दशक लामो सिर्जनयात्रा पूरा गरेका छौ।

कथा, उपन्यास, हास्य–व्यङ्ग्य तथा निबन्ध सिर्जनाका माध्यमबाट नेपाल र नेपाली समाजलाई पुर्‍याएको योगदान अविस्मरणीय र महत्त्वपूर्ण छ। त्यसैले तिमीलाई विभिन्न संस्थाहरूका तर्फबाट सामूहिक रूपमा हार्दिक अभिनन्दन व्यक्त गर्दछौं।

तिम्रो व्यक्तित्व र कृतित्व सधैं प्रकाशमान रहोस्। तिमी र तिम्रो परिवारको उत्तरोत्तर प्रगति तथा सिर्जनशील जीवनका लागि हार्दिक शुभकामना।”

त्यसपछि स्वदेश–विदेशमा क्रियाशील निम्न संस्थाहरूका प्रतिनिधिहरूले सामूहिक अभिनन्दन गरेका थिए।

तपाईको प्रतिक्रिया